नेकपा पार्टी मुख्यालयमा जनयुद्ध दिवस : नेपाललाई थाहै भएन, खनाल घरमै बसे, ओली जाँदै गएनन्

 फागुन १, २०७५ बुधबार २०:१:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले जनयुद्ध दिवस मनाउनेबारे आफूलाई कुनै जानकारी नभएको बताउनु भएको छ । 

नेकपाले आफ्नो मुख्यालयमा र देशव्यापी रूपमा जनयुद्ध दिवस मनाइरहँदा वरिष्ठ नेता नेपालले पार्टीमा औपचारिक रुपमा जनयुद्ध दिवस मनाउने कुनै निर्णय नभएको बताउनु भएको हो । 

तस्बिर- रासस

महोत्तरीको एक कार्यक्रममा जाने सिलसिलामा जनकपुरमा पत्रकारहरुसँग कुरा गर्दै नेता नेपालले पार्टीमा व्यक्तिले ‘म सर्वेसर्वा भएँ’ जस्तै गरी निर्णय गर्ने छुट कसैलाई नभएकाे पनि बताउनुभयो । जनयुद्धको मात्र नभई सबै आन्दोलनका शहीदहरूको सम्मान गर्ने कुरामा फरक मत नभए पनि पार्टीले गर्ने कार्यक्रमका बारेमा निर्णय भने विधि र प्रक्रियामा रहेर गरिनुपर्ने   भन्दै नेता नेपालले असन्तुष्टि व्यक्त गर्नुभयो ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको कार्यक्रममा शीर्ष नेताहरुमध्ये अध्यक्ष पुष्पकमल दाहाल मात्र उपस्थित हुनुहुन्थ्यो भने नेपाल जनकपुर र अर्का नेता झलनाथ खनाल आफ्नै निवासमा हुनुहुन्थ्यो ।

प्रधानमन्त्रीसमेत रहनुभएका पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओली पनि जनयुद्ध दिवसको अवसरमा गरिएको कार्यक्रममा उपस्थित हुनु भएन । 

पार्टीका महासचिव विष्णु पौडेल, नेता सुवास नेम्वाङलगायतका नेताहरुको भने कार्यक्रममा उपस्थित थिए । पूर्व माओवादीमा शीर्ष तहमा रहेका धेरै नेताहरु उपस्थित हुँदा पूर्व एमालेका शीर्ष तहका नेताहरुको भने उपस्थिति न्यून रहेको थियो ।

तस्बिर - रासस

पार्टी एकीकरण भएको सन्देश दिनकै लागि जनयुद्ध दिवसलाई पनि एकीकृत बनाउने तयारी गरिएको थियो । जनआन्दोलन र जनयुद्धलाई समेटेर श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमकै नाम ‘जनआन्दोलन र जनयुद्धका महान शहीदहरुप्रति श्रद्धाञ्जली कार्यक्रम’ राखिएको थियो ।

कार्यक्रमलाई एकीकृतजस्तो देखाउन खोजिए पनि शीर्ष नेतृत्वकै अनुपस्थिति र असन्तुष्टिले भने अझै पनि पार्टीभित्र तुस रहेको स्पष्ट हुन्छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया