जिल्ला समन्वय समितिले गरायो महोत्तरीका सबै क्रसर उद्योग बन्द

 फागुन २, २०७५ बिहिबार १२:३३:४७ | धनवीर महतो

महोत्तरी – महोत्तरीमा सञ्चालित सबै क्रसर उद्योगहरुलाई जिल्ला समन्वय समितिले बन्द गराएको छ । 

बुधबार जिल्ला समन्वयन समिति, महोत्तरीले प्रेस विज्ञप्ति जारी गर्दै जिल्लाभरिमा सञ्चालित ४ दर्जन क्रसर उद्योग बन्द गराएका हुन् ।

उद्योगको आधारपत्रको प्रमाण पेश गर्नका लागि उद्योगीहरुले अटेर गरेका भन्दै जिल्लाभर सञ्चालित क्रसर उद्योगलाई बन्द गराएको जिल्ला समन्वयन समितिका प्रवक्ता सुदिप कुमार झाले बताउनुभयो । प्रवक्ता झाले प्रेस विज्ञप्ति जारी गर्दै अनुगमन समितिले गएको पुसमा ७ दिनभित्र उद्योगको कागजात पेश गर्न दिएको निर्देशन पालना नगरेपछि यस्तो कदम उठाएको जनाएको छ ।

अवैध रुपमा सञ्चालित यस्ता क्रसर उद्योगहरुले चुरे दोहन गरी नदीजन्य पदार्थ उठाएर वातावरण नै कुरुप बनाएको जनगुनासो बढेपछि जिल्ला समन्वयन समितिले यस्तो कदम उठाएको जारी प्रेस विज्ञिप्तिमा उल्लेख छ ।

महोत्तरीमा ४ दर्जनको संख्यामा क्रसर उद्योग सञ्चालित छन् । जसमध्ये अधिकांश अवैध रुपमा सञ्चालित रहेको पनि पाइएको छ ।

 

अन्तिम अपडेट: चैत १५, २०८०

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया