खाने तेल र घिउमा मिसावट गरी जथाभावी मूल्य लिने व्यापारी पक्राउ, पसल शिलबन्दी

 असार ८, २०७५ शुक्रबार १०:२८:१२ | उज्यालो सहकर्मी

काठमाडाैं - बजार अनुगमनका क्रममा दैनिक उपभाेग्य वस्तु खानेतेल र घिउमा अखाद्य वस्तु भेटिएको छ ।

तेल र घिउमा मानव स्वास्थयमा हानी पुर्‍याउने वस्तु मिसाउने गरेको अनुगमनका क्रममा भेटिएको हो । यस्तै तेल र घिउमा व्यापारीले आफूखुशी मूल्य बढाएर बिक्रि गर्ने गरेकाे पनि पाइएको छ ।

बजारमा अहिले खानेतेलमा प्रतिलिटर १५ देखि २० रुपैयाँसम्म बढाएर व्यापारीले बिक्रि गरिरहेका छन् । अत्यावश्यक वस्तुमा बजार अनियन्त्रित हुन थालेपछि सरकारले खानेतेल र घिउको प्रशोधन तथा उत्पादन केन्द्रमा अनुगमन गर्ने तयारी गरेको छ ।

अहिले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ५ टोली बनाएर नियमित रुपमा बजार अनुगमन गरिरहेको छ । हिजो र अस्ति दुई दिन काठमाडौं उपत्यकामा अनुगमनका क्रममा ९ व्यापारी पक्राउ परेका छन् ।

अखाद्य वस्तुुुु मिसावट गरेकाे तथा मूल्य सूची नराखेको र अाफूखुशी मूल्यवृद्धि गरेको भन्दै ती व्यापारीहरुको पसल विभागले शिलबन्दी गरेको छ ।

पक्राउ परेका व्यापारीहरुको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । विभागकका महानिर्देशक योगेन्द्र गौचनले अब मूल्य सूची मात्रै नराखे पनि व्यापारीलाई कारबाही गर्ने बताउनुभयो ।

तर कालोबजारी गर्ने व्यापारीलाई ठाउँका ठाउँ कारबाही गर्ने अधिकार नहुँदा अनुगमन प्रभावकारी बन्न नसकेको उहाँले बताउनुभयो ।

कानुनी जटिलता र स्रोतसाधनका कारण अनुगमन पछि कारवाहीमा परेका व्यापारी सामान्य सोधपुछ र स्पष्टीकरण पछि छुट्ने गरेका छन् ।

यसले गर्दा उपभोक्ता सँधै मारमा पर्ने गरेका छन् ।

अहिलेको कानुन अनुसार उपभोक्ता ठगी गर्नेलाई अधिकतम २ वर्षको कैद र एक लाख रुपैयाँसम्मको जरिवाना हुने व्यवस्था छ ।

तर सरकारी उदासिनता र विभिन्न निकायबीच समन्वय नहुँदा व्यापारीले अधिकतम सजायबाट उन्मुक्ति पाउँदै आएका छन् । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया