सासूलाई बोक्सी भन्दै कुटपिट गर्ने बुहारीसहित दुई महिला पक्राउ

 फागुन २, २०७५ बिहिबार १९:१२:९ | हेमराज शर्मा

दाङ – महिलालाई बोक्सीको आरोप लगाएको अभियोगमा दाङमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

शान्तिनगर गाउँपालिका वडा नम्बर–४, की शोक्मा बुढामगर र तुलसीपुर–७, की बिष्णु श्रेष्ठलाई बोक्सीको आरोप लगाएको अभियोगमा इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरेको हो ।  

प्रहरीका अनुसार शोक्माले आफ्नै सासूलाई बोक्सी लागेर आफू बिरामी भएको भन्दै निर्घात कुटपिट गरेकी थिइन् । सासूको उजुरीका आधारमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

भूतप्रेत र बोक्सी लागेकालाई ठीक पार्ने भन्दै उनले करिब १० वर्ष अघिदेखि झारफुक गर्दै आएको र बिरामी पर्दा शोकमाया बिष्णुकहाँ झारफुक गर्न गएको र बिष्णुले घरकै सासू बोक्सी लागेको बताएपछि शोकमायाले सासूलाई कुटपिट गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी प्रेम शाहीका अनुसार उनीहरुलाई दाङ देउखुरी जिल्ला अदालतले ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । 

उनीहरुलाई मुलुकी अपराध संहिताअनुसार कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
 

अन्तिम अपडेट: चैत ९, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया