जम्मू–कश्मीरमा भएको आंतकवादी आक्रमणको नेपाल सरकारले गर्यो कडा निन्दा

प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई फोन गरेर दुःख व्यक्त गरे

 फागुन २, २०७५ बिहिबार २२:५२:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भारतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्लामा भएको आंतकवादी आक्रमणको नेपाल सरकारले कडा निन्दा गरेको छ ।

बिहीबार पुलावामा जिल्लामा  भारतीय सुरक्षा बल केन्द्रीय रिजर्भ प्रहरी बल (सीआरपीएफ)का ४४ जवानको ज्यान गरे भएको आतंकवादी आक्रमणको निन्दा गर्दै नेपाल सरकारले मृतक जवानहरुको परिवारप्रति समवेदना र घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । 

बिहीबार साँझ परराष्ट्र मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा नेपालले जुनसुकै बहानामा पनि आतंकवादी आक्रमणको समर्थन गर्न नसकिने जनाउँदै नेपाल सधैँ यस्ता आक्रमणको विपक्षमा रहेको स्पष्ट पारेको छ ।

 

प्रधानमन्त्री ओलीद्वारा भारतीय समकक्षी मोदीलाई फोन

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई फोन गरेर घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले ट्वीट गर्दै आफूले भारतीय समकक्षी मोदीलाई फोन गरेर घटनाप्रति दुःख व्यक्त गरेको बताउनुभएको छ ।

 

भारतीय समाचार एजेन्सी एएनआईका अनुसार आक्रमणको जिम्मा पाकिस्तानमा सक्रिय आतंकवादी जैश–ए–मुहम्मदले लिएको छ ।

भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार जैश–ए–मुहम्मदका आक्रमणकारीले विस्फोटक पदार्थले भरिएको बस सीआरपीएफको बसमा ठोक्काएका थिए । विस्फोटबाट सीआरपीएफका जवान चढेको बस टुक्रा–टुक्रा भएको थियो । यो बस सीआरपीएफको ५४औँ बटालियनको थियो ।

आत्मघाती आक्रमणमा परि ४० भन्दा बढी सुरक्षाकर्मी घाइते भएको भारतीय सञ्चार माध्यमले जनाएको छ ।

यो घटना कश्मीरमा भएको अहिलेसम्मकै ठूलो मानवीय क्षति भएको घटना हो । सन् २०१६ मा कश्मीरको उरीमा आतंकवादी आक्रमण हुँदा १९ जना भारतीय सुरक्षाकर्मीको ज्यान गएको थियो ।

 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया