भेरी बस दुर्घटना अपडेट : ज्यान गुमाएका मध्ये तीनजनाको सनाखत, ९ जना घाइते

 फागुन ३, २०७५ शुक्रबार ८:५२:२५ | राजु लामिछाने
unn.prixa.net

रुकुम – भेरी बस दुर्घटनामा ज्यान गुमाएका चारजना मध्ये तीन जनाको सनाखत भएको छ । बिहीबार साँझ यात्रु बोकेको बस भेरी नदीमा खस्दा चारजनाको ज्यान गएको थियो । चारजनाको घटनास्थलमै ज्यान गएको र ९ जना घाइते भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिनुभयो । 

ज्यान गुमाएका मध्ये तीनजनाको सनाखत भएको छ । दैलेख घर भई बाँके खजुरा २ बस्ने हरिबहादुर रावत, डोल्पा जगदुल्ला गाउँपालिका ५ का मनबहादुर बोहरा र बाँके खजुरा शान्तिपुरका १७ वर्षीय सागर भण्डारीको सनाखत भएको हो । भण्डारी गाडीको सहचालक हुन् । ज्यान गुमाएका एकजनाको भने सनाखत हुन सकेको छैन । 

घाइते ९ जना मध्ये २ जनालाई बिहीबार नै नेपालगञ्ज पठाइएको थियो । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका वडा नं १३ बस्ने ३२ वर्षीय लालबहादुर थापा र त्यही नगरपालिका वडा नं ११ का २८ वर्षीय भरत चन्दलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको हो ।

अन्य ७ जना घाइतेको जाजरकोट जिल्ला अस्पताल र स्थानीय मेडिकलमा उपचार भैरहेको छ । 

जाजरकोट भेरी नगरपालिका वडा नं ५ का २४ वर्षीय विवश बोहरा, वडा नं १ का ६० वर्षीया पञ्चकली राना  र नलगाड नगरपालिका वडा नं १३ का २१ वर्षीय डिल्लीबहादुर बोहरा, रुकुम पश्चिम आठबीसकोट नगरपालिका वडा नं ६ का धिरेन्द्र बोहरा र डोल्पा जगदुल्ला गाउँपालिका वडा नं ५ का १३ वर्षीय जितबहादुर बोहराको जिल्ला अस्पताल जाजरकोटमा उपचार भैरहेको प्रहरीले जनाएको छ । 

यस्तै, चालक सल्यान बनगाड कुपिन्डे नगरपालिका वडा नं ५ का २४ वर्षीय मोहन राना र जाजरकोटको बारेकोट गाउँपालिका वडा नं. ८ लिम्साका ३५ वर्षीय जयराम विकको स्थानीय रिम्ना मेडिकलमा उपचार भैरहेको छ । 

बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिमको राडीबजारतर्फ आउँदै गरेको भे १ ख १३२९ नम्बरको यात्रुवाहक बस भेरी नदीमा खसेको थियो । जाजरकोटको भेरी नगरपालिका–१ को खलङ्गा रिम्ना सडकखण्डको पिपे नजिकबाट बस भेरीमा खसेको हो । 
 

अन्तिम अपडेट: फागुन २८, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया