सरकारले दिगो विकास लक्ष्य हासिल गर्न आवश्यक बजेट अन्तर्राष्ट्रिय समुदायबाट जुटाउने

 फागुन ३, २०७५ शुक्रबार १६:१:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले दिगो विकास लक्ष्य हासिलका लागि आवश्यक बजेट अन्तराष्ट्रिय समुदायबाट जुटाउने योजना बनाएको छ । 

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले सन् २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्ने प्रतिबद्धता पूरा गर्न सरकारले अन्तराष्ट्रिय समुदायसँग आवश्यक बजेट जुटाउने योजना बनाएको जानकारी दिनुभएको हो ।

शुक्रबार संघीय संसदको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले दिगो विकास लक्ष्य हासिल गर्न प्रदेश र स्थानीय तहमा अभियान नै सञ्चालन गर्न लागिएको पनि बताउनुभयो ।

उपाध्यक्ष कँडेलले प्रदेश र स्थानीय तहमा दिगो विकास लक्ष्य हासिल गर्नका लागि सोचकै अभाव रहेको उल्लेख गर्दै ती समस्या समाधान गरेर अघि बढने गरी बजेटसहितको योजना तय गर्ने पनि बताउनुभयो ।

समितिका सदस्यहरुले भने दिगो विकास लक्ष्य हासिल हुनेगरी अघि नबढेको भन्दै सरकारको चर्को आलोचना गरेका थिए । समितिकी सदस्य प्रमिला कुमारीले दिगो विकास लक्ष्य हासिल हुनेगरी योजना बनाउन नसकेको भन्दै सरकारको चर्को आलोचना गर्नुभयो ।

उहाँले सामाजिक विभेदको समेत अन्त्य गर्न नसकेको मुलुकले कसरी सन् २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्न सक्छ पनि प्रश्न पनि गर्नुभयो ।

समितिका अर्का सदस्य दिनानाथ शर्माले दिगो विकास लक्ष्य हासिल हुने गरी सन्तुलित र समान अवसरसहितको विकास योजना अघि बढाउन सरकारसँग माग गर्नु भयो । उहाँले मुलुकमा सबै क्षेत्रको विकासमा समान अवसर स्थापना गर्न राजनीतिक परिवर्तन भएको उल्लेख गर्दै सोही मर्म अनुसार सरकारले काम गर्नुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।

समितिका सदस्यहरुले दिगो विकास हासिल गर्ने सरकारको तयारीका विषयमा पनि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. कँडेलसँग विभिन्न जिज्ञासा राखेका थिए ।

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया