१५ फोटोमा हेर्नुहोस्, कसरी छाडिन्छ नदीमा गोही ?

 फागुन ३, २०७५ शुक्रबार १८:३८:५७ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – गोहीको अण्डा नदीबाट संकलन गरी प्रजनन् केन्द्रमा कोरलेर गोहीका बच्चा हुर्काउने गरिन्छ । 

गोहीलाई प्रजनन केन्द्रमा मानिसकै सहयोगमा पाँच वर्षको उमेरसम्म हुर्काइ उपयुक्त समयमा लगरे नदीमा छाड्ने गरिन्छ । अहिलेसम्म १ हजार ४सय ४ गोही हुर्काएर नदीमा छाडिएका छन् ।

पछिल्लो गणनाअनुसार राप्ती र नारायणीमा करिब २ सय गोही रहेका छन् । सन् १९७८ मा प्रजनन् केन्द्र स्थापना भएपछि गोहीका बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छोड्न थालिएको हो । गोही संरक्षणमा संकट देखिएका कारण निकुञ्जले गोही प्रजनन केन्द्र स्थापना गरेर गोही संरक्षण गर्दै आएको छ । 

चितवन निकुञ्जमा रहेको प्रजनन् केन्द्रमा हाल पाँच सयभन्दा बढी गोही रहेका छन् । निकुञ्जमा रहेको घडियाल प्रजनन् केन्द्रमा हुर्काईएका गोहीलाई नदिमा छाडिएको हो  ।  

शुक्रबार २४ वटा गोहीलाई राप्ती नदीमा छाडिएको छ । प्रजनन केन्द्रमा हुर्काएर हालसम्म देशका विभिन्न नदीमा शुक्रबार छाडिएका सहित १हजार ४सय ४ गोही छाडिएको बताउँदै निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले  यसवर्ष एक सय हाराहारी गोही छाड्ने कार्यक्रम रहेकोे जानकारी दिनुभयो । 

शुक्रबार छोडिएका गोहीमध्ये दुई वटा भाले र २२ वटा पोथी रहेको प्रजनन् केन्द्र हेर्दै आउनु भएका निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काले बताउनुभयो । एउटा गोही हुर्काउनको लागि १० लाख रुपैयाँ बराबरको खर्च हुने बताउँदै उहांँले प्रजनन केन्द्रमा हुर्किएर पाँच वर्षपछि मात्र नदीमा छाडिने बताउनुभयो । 

राप्तीमा प्रजनन् केन्द्रमा हुर्काएर हालसम्म ७२४ गोही छाडिसकिएको छ भने नारायणीमा ३९९ गोही छाडिएको छ । हालसम्म कालीगण्डकीमा ३५, सप्तकोशीमा ९५, कर्णालीमा ४१ र बबईमा ११० गोही छोडिसकिएको छ ।

नेपालका नदीमा छाडिएका गोही पानीसँगै बगेर भारतसम्म पुग्ने गरेका छन् । गण्डक ब्यारेजका कारण नेपालबाट भारततर्फ पुगेका गोही नेपालतर्फ फर्कन सक्दैनन् । पछिल्लो समय नदीजन्य फोहोर बढेको र मानवीय फोहोर व्यवस्थापन हुन नसक्दा गोही संरक्षणमा चुनौती देखिएको संरक्षणकर्मीहरु बताउछन् । 

गोही नदीमा छाड्ने क्रममा पुग्नुभएकी भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दहालले संरक्षणमा स्थानीय निकायले सहयोग गर्ने बताउनुभयो । नदीमा वढ्दै गएको प्रदूषण रोक्न महानगर प्रतिवद्ध रहेको बताउँदै उहाँले संकटमा पर्दै गएको गोही संरक्षणमा सवै पक्षले ख्याल राख्नुपर्ने बताउनुभयो । 

अन्तिम अपडेट: चैत १४, २०८०

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया