बेलायतबाट भागेर आईएस लडाकू बनेकी गर्भवती किशोरी घर फर्किन चाहन्छिन् !

 फागुन ३, २०७५ शुक्रबार १९:८:५५ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – सन २०१५ मा चरमपन्थी संगठन आईएस(इस्लामिक स्टेट) मा संलग्न भएकी एक ब्रिटिस किशोरी आफ्नो घर फर्किन चाहन्छिन् । शामिमा बेगम नाम गरेकी ती किशोरी सन् २०१५ मा पूर्वी लण्डनबाट भागेकी थिइन् । कक्षाका दुईजना साथीहरुसँगै उनले बेलायत  छोडेकी थिइन् । 

बेलायती म्यागजिन द टाइमका अनुसार, अहिले उनी उत्तरी सिरियामा शरणार्थीको रुपमा बसिरहेकी छिन् । अहिले उनी १९ वर्षकी भइन् र ९ महिनाकी गर्भवती पनि छिन् । बेगमले भनेकी छिन्, ‘म मेरो बच्चालाई जन्म दिन घर जान चाहन्छु ।’

उनले आफू सिरिया आएकोमा कुनै पछुतो नभएको पनि बताएकी छिन् । तर उनले भनेकी छिन्, ‘खलिफाको राज्यको अन्त्य भइसकेको छ ।’

‘तिनीहरु आफैभित्रको भ्रष्ट व्यवस्थाका कारण स–सानो समूहमा सीमित भैरहेका छन्, मलाई लाग्दैन कि तिनीहरुले विजय प्राप्त गर्नेछन्’, उनले भनिन् ।

योभन्दा पहिला पनि आफ्ना दुई सन्तान जन्मिसकेका तर कुपोषणका कारण सानैमा मरेका र पेटमा भएको बच्चाको भविष्यको चिन्ताले आईएसको अन्तिम क्याम्पबाट दुई हप्ता पहिले आफूले भाग्ने निर्णय गरेको उनले बताइन् । उनले भनेकी छिन्, ‘अब म योभन्दा बढी केही पनि सहन सक्दिनँ, मात्र म मेरो घर फर्किन चाहन्छु ।’

बेगमका २७ वर्षीय श्रीमान नेदरल्याण्डका हुन्, उनी पनि आईएसआईएसका लागि लडेका थिए । उनले एक हप्ता अगाडि सिरियाको प्रजातन्त्रिक शक्तिको लागि काम गर्ने सिरियन लडाकुसँग (एसडीएफ) आत्मसमर्पण गरिसकेका छन् । एक हप्तादेखि बेगमले आफ्ना श्रीमानलाई भेटेकी छैनन् ।

बेगमले अनलाइनमा आफ्नो बारेमा लेखिएका कुराले घरमा बसेकाहरुले के सोचिरहेका छन् भन्ने कुराले सचेत भएको बताएकी छिन् । उनले भनेकी छिन्, ‘म आफ्नो बच्चालाई जन्म दिनका लागि जसरी भए पनि घर जान चाहन्छु । आफ्नो छोरासँग बस्न र घर जान योग्य हुनका लागि म जे भने पनि गर्न तयार छु ।’

पूर्वी लण्डनबाट पूर्वी सिरियासम्मको यात्रा 

सन् २०१५ को फेब्रुअरीमा सँगै पढ्ने दुई जना साथी कादिजा सुल्तान र अमिरा अबासेसँगै बेगमले लण्डन छाडदै गर्दाकाे तस्विर 

सन् २०१५ को फेब्रुअरीमा सँगै पढ्ने दुई जना साथी कादिजा सुल्तान र अमिरा अबासेसँगै बेगमले लण्डन छाडेकी थिइन् । बेथनिल ग्रीन एकेडेमीका सबै युवतीहरु सिरिया भ्रमण गरेकाहरुलाई साथी बनाउँथे । 

तिनीहरु तीनै जनाले सिरिया पार गरे । कसैले जासूस भनेर पक्रिन सक्छ भन्दै त्यहाँ आफूहरु केही घरमा लुकेर बसेको बेगमले बताइन् । त्यसको केही दिनपछि उनीहरु सिरियाको रक्का भन्ने शहरमा पुगे । त्यहाँ उनीहरु महिलाको लागि बनेको घरमा बसे । बेगमले भनिन्, ‘त्यहाँ उनले २० देखि २५ वर्ष उमेरका अंग्रेजी बोल्न जान्ने लडाकूहरुसँग बिहे गर्नको लागि निवेदन दिइन् ।’ दश दिनपछि उनले नेदरल्याण्डवासी यगो रेजिकसँग विहे गरिन् ।

उनीसँगै गएकी अन्य महिलाले पनि आईएसआईएस योद्धासँग बिहे गरिन् । बेगमले क्यालिफेटको राजधानीमा बिताएको पहिलो वर्ष गलत प्रचारप्रसारका लागि बनाइएका भिडियो हेरेझैँ सामान्य भएको बताइन् । 

‘तर जब मैले तरकारीको भाँडामा पहिलो अलग्गिएको टाउको देखेँ यसले मलाई कत्ति पनि विचलित बनाएन। त्यो युद्धभूमिमा पक्रेको आईएसको शत्रु थियो’, उनले बताइन् । सन् २०१३ को मे महिनामा रक्काको आक्रमणमा सुल्तान मारियो । सन् २०१७ को जनवरीमा बेगम र उनका श्रीमानले रक्का शहर छोडेर दक्षिणपूर्वको यूफ्रेट्स उपत्यकामा गए । जहाँ एसडीएफशक्तिहरु तैनाथ भएका थिए । अन्त्यमा उनीहरु बघाजमा उत्रिए ।

एसडीएफले आईएसआईएसलाई भगाउनको लागि लागेपछि आफू दुई हप्ताअघि बघाजबाट भागेर गएको बेगमले बताइन् । तीन माइल लामो बाटो हिँडेरै गइन् । जसले गर्दा उनी कमजोर पनि भइन् ।

बेगम अहिले ३९ हजार सिरियाली शरणार्थीको क्याम्पमा छिन् । आफूले भर्खरै अरु महिलाहरुबाट लण्डनकी आफ्नी दुई साथीहरु बघाजमा जीवितै रहेको थाहा पाइन् । तर उनले भनेकी छिन्, ‘यति धेरै बमबारी भइरहेको छ, मलाई आशा लाग्दैन कि उनीहरु बाँच्छन् ।’

घर फर्किने अनिश्चितता

बेगम अब कसरी घर फर्केलिन् भन्ने कुनै टुंगो छैन । बेलायती गृह मन्त्रालयको कानुनअनुसार आईएसआईएसमा यात्रा गरिसकेको मान्छेलाई घर फर्किन एकदमै चुनौतीपूर्ण रहेको छ । 

बेगमको मुद्धामा प्रत्यक्ष प्रतिक्रिया नजनाए पनि बेलायती सुरक्षा मन्त्री बेल वालेसले बिहीबार बीबसीसँग भनेका छन्, ‘हरेक कामको परिणाम भोग्नुपर्छ ।’ उनले भनेका छन्, आईएसआईएसको सफर गरेर फर्केर आएकाहरुबाट यस्तो आशा गर्न सकिन्छ, ‘प्रश्नको लागि तयार हुने र, आतंककारीहरुमाथि सम्भावित मुद्धा चलाउन अनुसन्धानमा सहयोग गर्नुपर्ने हुन्छ ।’

उनले भनेका छन्, हामीले त्यहाँ बच्चाहरु पनि सहभागी भएको पाएका छौँ । जसलाई त्यहाँबाट बाहिर आउन कुनै पनि रहर छैन । तर अन्त्यमा हामीले गर्नुपर्ने भनेको नागरिकको सुरक्षा नै हो । 

‘जो बच्चा सानैमा त्यहाँ गएका थिए अहिले उनीहरु व्यावसायिक आतंककारी बनिसकेका छन् ।  तिनीहरुलाई फर्काउन हामीले धम्कीलाई कम गर्न हामी विश्वस्त हुनुपर्नेछ’, उनले भने । किशोर किशोरीको तर्फबाट वकिल तस्मिन अकुजीले बेलायतको प्रेस एसोसियसन न्यूज एजेन्सीलाई भनेका छन्, ‘जब पहिलो पटक किशोरी हराएकी थिइन् । तब महानगरीय पुलिस कमिस्नरको हालत के भएको थियो त्यो कुरा बेलायती अधिकारीहरुलेसम्झिनुपर्ने हुन्छ ।’

टोनी ब्लेयर इन्स्टिच्यूटका विश्लेषक मुबारज अहमदले बताएका छन्, ‘एउटी तन्नेरी युवतीले आफैले कोरेको तस्बिरले असंवेदनशील दर्दनाक अवस्थाको चित्रण गरेको छ । तानाशाही शासनको अन्त्य साथै इस्लामिक इस्टेटका शत्रुविरुद्ध प्राप्त भएको जितको विश्लेषण गर्ने छ ।’ 

बेगमको लागि क्यालिफेटसँग जोडिनु कुनै गलत काम नभएको बताएका छन् । तर क्यालिफेटमा उनी आफै इच्छुक भएर जोडिएकी र त्यसले गर्दा नराम्रो हुन गएको बताएका छन् । 

अहमदले बेलायती अधिकारीहरुले हतारमा प्रतिरोध नजनाइहाल्न आग्रह गरेका छन् । उनले बेलायतले राष्ट्रिय कानुनभित्र मात्र रहेर अनुसन्धान गर्ने अधिकार नभएको र यसले द्वन्द्वमा अल्झेकाहरुलाई पुनःस्थापनाको उचित व्यवस्था गर्नुपर्नेमा पनि जोड दिएका छन् ।

उनले भनेका छन्, ‘न्यायले सधैँ सजायको भागिदार हुनैपर्छ भन्ने केही छैन ।’ एउटा नयाँ पेन्टागन रिपोर्टले बताएअनुसार, अमेरिकी सरकारले आईएसआईएसबाट फर्केर घर आएकाहरुलाई अभियोग नलगाउन अन्य देशहरुलाई प्रोत्साहन गरिरहेको बताएका छन् । 

राजनीतिक कारणले गर्दा कानुनी प्रमाण जुटाउनेदेखि अन्य प्रक्रिया केही जटिल बन्दै गएको छ । तर धेरैजसो युरोपेली देशहरुले भने आईएसआईएसको सदस्य बनिसकेकालाई स्वीकार्न हिचकिचाएका छन् । तर रुस, इण्डोनेसिया, लेबनान र सुडानले घर फर्किन चाहने आईएसआईएस सदस्यहरुलाई स्वीकारेका छन् ।

योभन्दा अगाडि समातिएका आईएसआईएस सदस्यहरु इराकी कानुनको अधिनमा राखेर प्रशोधन गरिएका छन् । तर सिरियाको त्यस्तै प्रकारको कानुनी प्रावधानलाई भने ईयूले स्वीकारेको छैन ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया