प्रदेश १ सरकारले ९० वर्ष माथिका जेष्ठ नागरिकलाई ५ हजारसहित सम्मान गर्ने

 फागुन ३, २०७५ शुक्रबार १९:२२:४० | सुमन तिमल्सिना
unn.prixa.net

फाइल फाेटाे

मोरङ – प्रदेश एक सरकारले ९० वर्षभन्दा बढी उमेरका जेष्ठ नागरिकलाई नगद ५ हजारसहित घरमै पुगेर सम्मान गर्ने घोषणा गरेको छ । 

एक वर्षभित्र प्रदेश सरकारले गरेको कार्यक्रम सार्वजनिक गर्दैछ । वार्षिक उत्सवको अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय परिषरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले ९० वर्षचन्दा माथिका जेष्ठ नागरिकलाई ५ हजार नगदसहित सम्मान गर्ने घोषणा गर्नुभएको हो । उहाँले भने, ‘प्रदेश सरकारले आफनो एकवर्षे कार्यकाल पुरा गरेको यस ऐतिहासिक अवसरमा यसै आर्थिक वर्षमा प्रदेशका अति ज्येष्ठ नागरिक ९० वर्ष भन्दा माथिका वृद्धवृद्धा आमा वुवाहरुलाई सरकारको तर्फवाट रु.५,००० नगद सहित घर–घरमा सम्मान गर्ने घोषणा सरकारको तर्फबाट गर्न चाहन्छु ।’

सुशासन, विकास र समृद्धि अर्थात समृद्ध प्रदेश, सुखी जनताको लक्ष्य हासिल गर्न सरकार प्रतिवद्ध रहेको समेत उहाँले स्पष्ट पार्नुभयो ।   प्रदेश सरकारलाई सबै क्षेत्रको साथ, सहयोग र सदभाव प्राप्त भएकोमा खुसी व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री राईले प्रदेश सरकार र प्रदेशसभाप्रति नागरिकलाई जोड्दै प्रदेशको विकास समृद्धि र सुशासनमा जनताले आशा र भरोसा गर्ने एकमात्र संस्थाको रुपमा प्रदेशलाई स्थापित गर्न यसबीचमा सफल भएको दाबी गर्नुभयो ।  

‘छोटो अवधिमै प्रदेश सरकारप्रति जनताको आशा, विश्वास र भरोसा गर्ने अवस्था सिर्जना भएको छ । त्यो बढिराखेको छ यो अत्यन्तै सकारात्मक र उपलब्धिको पक्ष हो’, उहाँले भन्नुभयो ।

प्रदेशको योजनावद्ध आधुनिक विकासका लागि प्रदेश योजना आयोगको गठन, आवधिक योजनाको तर्जुमा, आयोजनाहरुको वर्गीकरण प्राथमिकीकरण गर्दै अगाडि बढ्नु र वित्तीय अनुशासन कायम गर्न सक्नु अर्को महत्वपूर्ण उल्लेख्य पक्षको रुपमा लिएको उहाँले सुनाउनुभएको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया