भोजपुरे खुकुरी बोकेर १० महिनामै साइकलमा ७७ जिल्ला !

 फागुन ४, २०७५ शनिबार ७:७:३८ | सन्ताेष रुचाल
unn.prixa.net

धनकुटा – ‘भोजपुरे खुकुरी जोगाऊ’ अभियानमा साइकल यात्रामार्फत देश दौडाहामा निस्केका भोजपुरका एक युवकले १० महिनामा ७७ जिल्लाको यात्रा पुरा गरेका छन् ।

भोजपुर नगरपालिका–११, स्थायी घर भई हाल झापाको भद्रपुर नगरपालिका–७ मा बसोबास गर्दै आएका कक्षा–१२ मा अध्यायनरत २१ वर्षीय तेजप्रसाद पराजुलीले भोजपुरको पहिचान बोकेको भोजपुरे सिरुपाते खुकुरीको प्रचार गर्न २०७५ वैशाख ९ गते साइकल यात्रा सुरु गरेका थिए । 

 

झापाको मेचीपुलबाट वैशाख ९ गते पराजुलीले सुरु गरेको साइकल यात्रा २०७५ माघ १३ गते दार्चुला जिल्लामा गएर सम्पन्न गरेको साइकल यात्री तेजप्रसाद पराजुलीले बताए । ‘भोजपुरे खुकुरी जोगाऊ’ अभियान अन्तरगत खुकुरीको प्रचार गर्दै भोजपुरलाई पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सुरु गरेको ७७ जिल्लाको यात्रा सफल पार्नका लागि विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले सहयोग गरेको पराजुलीले बताए ।

नेपाल पिस साइक्लिङ टुर लेखिएको ब्यानर साइकल अगाडि टाँसेर पछाडि झोलामा भोजपुरे खुकुरी र नेपालको झण्डा बोकेका पराजुलीले हरेक जिल्लामा पुगेर भोजपुरे खुकुरी देखाउँदै पर्यटन प्रवद्र्धनको लागि भोजपुर घुम्न आग्रह गर्ने गरेका थिए । ‘अहिले भोजपुरे खुकुरी लोप हुन लागेकाले त्यसको संरक्षण गर्दै भोजपुरलाई पर्यटन प्रवद्र्धन गर्नु मेरो साइकल यात्राको मुख्य उद्देश्य थियो’, पराजुलीले भने । 

साइकल यात्राको क्रममा पराजुली तेह्रथुमको आठराईमा साइकल दुर्घटनामा परे । ओरालो बाटोमा साइकल चिप्लिँदा सडकबाट आफू २० मिटर तल खसेको र साइकल आफूभन्दा थप २० मिटर तल खसेको पराजुलीले बताए । 

तेह्रथुममा साइकल दुर्घटनामा परेका पराजुलीलाई नेपाल प्रहरीले उद्धार गरी उपचार गरेको पराजुलीले बताए । मध्यम परिवारमा जन्मेका पराजुली साइकल यात्राको क्रममा कति दिनसम्म एक छाक मात्र खाना खाएर बाँचेको बताए । 

यात्राको क्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, विभिन्न गाउँपालिका र स्थानीयवासीहरुले सहयोग गरेको पराजुलीले बताए । साइकल यात्राको लागि पञ्च अष्टनारायण स्टोर काठमाण्डौले निःशुल्क साइकलसहित आवश्यक उपकरणहरु उपलब्ध गराएको थियो ।

उनले त्यही साइकलको यात्रामार्फत ७७ जिल्लाको यात्रा सम्पन्न गरे । तर ७७ जिल्लाको यात्रा सम्पन्न गरेको औपचारिक रुपमा सार्वजनिक गर्न भने बाँकी रहेको पराजुलीले बताए ।
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया