देश-विदेशमा हुने स्टेज कार्यक्रम: कलाकारको बाँच्ने आधार !

 फागुन ४, २०७५ शनिबार १५:१३:३१ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ –‘स्टुडियो’ र देश/विदेशमा हुने विभिन्न ‘स्टेज’ कार्यक्रममा भ्याइनभ्याइ हुन्थ्यो, कुनै समय नेपाली लोक सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका चर्चित लोक दोहोरी गायक राजु परियारलाई । उनले आम दर्शक/श्रोताको मनमा बस्न सफल हजारौँ गीतमा आफ्नो सुरिलो श्वर भरेका छन् । 

मिरमिरेको घाम, दुराडाँडे दाई, सुनपानीले छर्क मायालु, झिमझिम सानु, लालुपाते नुँघ्यो भुइँतिर, दिउँला फूलको थुंगा, माफ गर भूल भएलगायत माया, प्रेम, मिलन, विछोडका हजारौँ गीतमा उनले आफ्नो ‘जादुमयी स्वर’ दिएका छन् ।

‘स्टुडियो’ र ‘स्टेज’ फरक

अहिले पनि ‘स्टुडियो’ र देश/विदेशमा हुने सांगीतिक कार्यक्रममा व्यस्त हुने गायकमा पर्छन्, राजु परियार । ‘स्टुडियो र ‘स्टेज’मा बिल्कुलै फरक छ,’ उनी भन्छन् । उनका अनुसार गायक/गायिकाले स्टुडियोमा निश्चित स्केलमा रहेर, वाद्यवादनको संयोजनमा रहेर गाउनुपर्छ । 

‘स्टुडियोमा आफूमात्र रमाइन्छ । तर स्टेजमा श्रोता/दर्शकसँग भलाकुसारी गर्दै गाउन सकिन्छ । हामीहरु स्टेज कार्यक्रममा श्रोता/दर्शकसँगै गाउँदै, रमाउँछौँ,’ उनी थप्छन् । 

विभिन्न पर्व, अवसरमा देश/विदेशमा हुने सांगीतिक तथा साँस्कृतिक कार्यक्रमले कला क्षेत्रमा लागेका व्यक्तिहरुको अर्थोपार्जनमा समेत टेवा पुर्‍यएको गायक परियार बताउँछन् ।

गायक राजु भन्छन्, ‘विभिन्न अवसरमा देश/परदेशमा हुने स्टेज कार्यक्रमले कलाकारको अर्थोपार्जनका साथै नयाँ प्रतिभा जन्माउन पनि भूमिका खेलेको छ ।’
स्टुडियोसँगै देश तथा देशबाहिर हुने विभिन्न सांगीतिक कार्यक्रममा व्यस्त हुने गायक हुन्, चोलेन्द्र पौडेल पनि । उनी कार्यक्रम उद्घोषकका रुपमा समेत परिचित छन् । 

देश तथा परदेशमा हुने कार्यक्रमले कलाकारलाई बाँच्न केही सहज बनाएको उनी बताउँछन् । उनी अघि थप्छन्, ‘सबै त होइन तर सीमित चलेका कलाकारको बाँच्ने आधार बनेको छ, देश विदेशमा हुने कार्यक्रम ।’

आफूले स्टुडियोमा दर्शक/श्रोतालाई सम्झेर गीत गाउने गरेको उनी बताउँछन् ।

‘देश भित्र र बाहिर हुने कार्यक्रममा प्रत्यक्ष श्रोता/दर्शकमाझ प्रस्तुति राख्न पाउँदा खुशी लाग्छ,’ उनी दोहाेर्‍याउँछन्, ‘विभिन्न अवसरमा विभिन्न ठाउँमा हुने सांगीतिक तथा साँस्कृतिक कार्यक्रमहरु कलाकारलाई केही रुपमा भए पनि बाँच्ने आधार बनेको छ ।’

संगीत बजार व्यवस्थित हुन सकेन

नेपाली गीत/संगीत क्षेत्रको बजार व्यवस्थित हुन नसकेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय उप–महासचिव समेत रहेका गायक पौडेल बताउँछन् । 

मेला, महोत्सवले नयाँ पुराना दुवै कलाकारलाई स्थान दिनुपर्ने उनी बताउँछन् । गायक पौडेलका जाम झोला बोकेर, वनैको चरी, पानी मुनी मुनीलगायतका गीत चर्चित छन् । 

यसैगरी, देश÷विदेशमा हुने विभिन्न कार्यक्रममा रोजाइमा पर्ने गायकभित्र पर्छन्, अहिलेका चर्चित लोक दोहोरी गायक रामजी खाँड । उनले दुई दर्जन बढी देशमा पुगेर आफ्नो सांगीतिक प्रस्तुति दिइसकेका छन् । 

उनी स्टुडियोसँगै विभिन्न कार्यक्रममा व्यस्त भइरहने गायक पनि हुन् । 

‘स्टुडियोमा एउटै गीतलाई ‘रिपिट’ गरी गरी गाउँछौँ । नमिलेको ठाउँमा मिलाउँछौ । सकेसम्म गीत राम्रोसँग गाउने प्रयास गछौँ,’ रामजी स्टेज अनुभवबारे सुनाउँछन्, ‘स्टेजमा ‘लाइभ पर्फर्मेन्स’ हुन्छ । त्यसैले अलि ‘रिस्की’ पनि हुन्छ । कसरी राम्रो प्रस्तुति दिने, श्रोता/दर्शकको मन कसरी जित्ने भन्नेमा ध्यान केन्द्रित हुन्छ । स्टुडियोभन्दा तुलनात्मक रुपमा स्टेजमा अलि गाह्रो हुन्छ ।’

गीत गाएरै जीवन चलाउन सकिन्छ !

गीत/संगीतमै लागेर आफूले सजिलै परिवार पालेको उनी बताउँछन् । ‘मैले यसै क्षेत्रबाट जीवन चलाएको छु । हिजोका दिनमा गीत गाएरै बाँच्न गाह्रो थियो । अहिले पनि यस क्षेत्रमा संघर्षरत व्यक्तिलाई त गाह्रै छ,’ उनी थप्छन्, ‘तर मेहनन गरी आएमा, गीत/संगीत क्षेत्रमा राम्रो गर्न सकेमा यसैबाट सजिलै जीवन चलाउन सकिन्छ ।’ 

नाम, दाम दुवै हुने भएकाले पनि पछिल्लो समय गीत/संगीत क्षेत्रमा आफ्नो ‘करियर’ बनाउन खोज्नेहरुको संख्या बढ्दो छ । 

‘राम्रो सिर्जना गर्न सके, मेहनत गरी जन–जनको मन छुने खालका गीत गाउन सके यस क्षेत्रमा लागेर सजिलै बाँच्न सकिन्छ,’ गायक खाँड भन्छन् । 
पछ्यौरी लेउ बैना, दामी देखिन्छ, फूल फुलेर, जाम भन्यो लाहुरले, धुँवासरीलगायतका दर्जनौँ चर्चित गीतमा गायक खाँडले आफ्नो मिठो स्वर भरेका छन् । आफूले गाएका कतिपय गीतको ‘म्युजिक भिडियो’मा उनी आफैँ पनि कम्मर मर्काउँछन् ।
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया