अर्थमन्त्री र गभर्नरलाई प्रधानमन्त्रीले भने: ब्याजदर घटाउनुस्, मैले हस्तक्षेप गर्नु नपरोस्

 फागुन ४, २०७५ शनिबार १७:१६:१८ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले ब्याजदरको विवाद तत्कालै हटाउन अर्थमन्त्री र गभर्नरलाई निर्देशन दिनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, अर्थमन्त्री डा. युवराज खतिवडा, गभर्नर चिरिञ्जिवी नेपाल लगायतसँग वालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले तत्कालै ब्याजदर घटाउन निर्देशन दिनुभएको हो ।

उहाँले ब्याजदरको विषयमा उद्योगी व्यवसायीको गुनासो आउन थालेको लामो समय भएपनि अझै समाधान नगरेको भन्दै अर्थमन्त्री र गभर्नरलाई निर्देशन दिनुभएको हो । 

‘लामो समयदेखि यो समस्या सुनिरहेको छु, अहिलेसम्म समाधान भएको रहेनछ, यो कुरा अर्थमन्त्री र गभर्नर जी ले तत्कालै समाधान गर्नुपर्‍यो, होइन भने मैले हस्तक्षेप गर्नुपर्ला, त्यसो भयो भने राम्रो हुनेछैन’ प्रधानमन्त्री ओलीको भनाई उदृत गर्दै मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार शारडाले उज्यालोलाई भन्नुभयो । 

बैंक र बीमाको कार्टेलिङले हैरान भयौं: उद्योगी व्यापारी

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरु उमेश श्रेष्ठ, चन्द्र ढकाल, उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा, चेम्बर अफ कमर्सका दिपक मलहोत्रा, मोरङ व्यापार संघका अध्यक्ष पवन कुमार शारडा, विरगंज भैरहवा उद्योग वाणिज्य संघका प्रमुख लगायतले शनिवार प्रधानमन्त्रीलाई आफ्ना गुनासा राखेका थिए ।

उनीहरु सबैको एउटै आवाज थियो ‘बैंक र बीमा संस्थाहरुले राष्ट्र्बैंकको संरक्षणमा कार्टेलिङ गरेका छन्’ ।

उद्योगी व्यापारीले बैंकको चर्को ब्याजका कारण लगानी गर्न सक्ने अवस्था नरहेको, अस्थिर ब्याजदरले उद्योग व्यवसायमा पनि अस्थिरता आएको लगायतका गुनासा गरेका थिए । 

केहि बैंकले राष्ट्र्रबैंककै नियम पनि नमानेको तर उनीहरुलाई कारबाहि नभएको आवाज पनि छलफलमा उठेको थियो । 

बैंकहरुले निक्षेपमा दिने ब्याज घटाए पनि कर्जाको ब्याज घटाउन निकै आनाकानी गरेको लगायतका समस्या उद्योगी व्यापारीले प्रधानमन्त्री ओली समक्ष राखेका थिए । 

सोमबार अर्थमन्त्रीसँग वार्ता हुने

अर्थमन्त्री डा युवराज खतिवडाले सोमबार राष्ट्रबैंक, बैकका सञ्चालक र उद्योगी व्यापारीसँग छलफल गर्नुहुने भएको छ । 

बैठकमा उद्योगी व्यापारी र बैंकहरुबीच देखिएको समस्या समाधानको लागि खुलेर छलफल हुने अर्थमन्त्री डा खतिवडाले बताएको मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार शारडाले बताउनुभयो । 


 

अन्तिम अपडेट: बैशाख ५, २०८१

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया