गण्डकी प्रदेशको पहिलो वर्ष : थोरै सकियो धेरै प्रक्रियामा

 फागुन ४, २०७५ शनिबार १८:१३:२० | सुमन गुरुङ
unn.prixa.net

कास्की – गण्डकी प्रदेश सरकारले शनिबार प्रथम स्थापना दिवस मनाएको छ ।

अघिल्लो वर्षको फागुन ४ गते प्रदेश प्रमुख बाबुराम कुँवरले तत्कालीन नेकपा एमालेका संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङललाई शपथ खुवाएसँगै औपचारिक रुपमा प्रदेश सरकार गठन भएको थियो ।

मुख्य मन्त्रीको कार्यालयमा भएको कार्यक्रममा प्रदेश प्रमुख बाबुराम कुँवर, मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, मन्त्रीहरु, सभामुख, उपसभामुख, प्रदेशसभाका सभासद्हरु, स्थानीय तहका प्रमुख तथा उप प्रमुखहरु, संघसंस्थाका प्रतिनिधिहरुलगायत सहभागी थिए । 

कार्यक्रममा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले निकै कठिन परिस्थितिमा पनि प्रदेश र केन्द्रको नामाकरण गरिएको बताउनुभयो । यो एक वर्षको अवधिमा आवश्यक २५ वटा कानुन र  १ सय १७ भन्दा बढी कार्यविधीहरु बनाएको र संरचना निर्माणको काम पनि सकाएको उहाँको भनाइ छ । 

यो एक वर्षमा सोचेको जस्तो नभएको बताउदै काम गर्नको लागि कर्मचारी अनि बजेटले पनि प्रभाव पारेको बताउनुभयो । संघीय सरकारले पनि अलमल गरेको बताउदै उहाँले भन्नुभयो, ‘भनेको बेलामा कर्मचारी पठाइदिएको भए हामीले अहिलेसम्म ५० प्रतिशत काम त गरिसक्ने थियौंँ ।’ 

केन्द्र सरकारबाट साझा सूचीका कानून निर्माण र संविधानसँग बाँझिएका पुराना कानुन संशोधनमा विलम्ब भएकाले प्रदेश सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको उहाँले बताउनुभयाे ।

यो वर्षमा काम गर्न केही अप्ठेरो भए पनि कामको सुरुवात भइसकेकोले पञ्चवर्षीय योजनाहरु तोकिएको समयमै पूरा गर्नेगरि अगाडि बढ्ने उहाँको भनाइ छ ।

अबको ५ वर्षभित्रमा प्रत्येक स्थानीय तहमा खेलमैदान र सभाहल बनाउने, पोखरादेखि मुग्लिनसम्मको सडक र बुटवलदेखि पोेखरासम्मको सडक चार लेनको बनाउने, मध्यपहाडी लोकमार्ग २ वर्षमा सक्ने लगायतका धेरै कामहरु सक्ने लक्ष्य रहेको पनि मुख्यमन्त्री गुरुङले बताउनुभयो । 

प्रदेश प्रमुख बाबुराम कुँवर केन्द्रीकृत एवं एकिकृत शासन व्यवस्था गाउँगाउँ र घरघरसम्म पुर्‍याउन वर्तमान संविधानले देशमा संघीय प्रणाली अवलम्बन गरेको उल्लेख गर्नुभएको थियो । 

गण्डकी प्रदेश सरकारले गरेका कानुन निर्माण, विकास निर्माण, सरकार मातहतका विभाग, निर्देशनालय र जिल्ला तहमा कार्यालयहरु खोल्ने प्रयास, नीति निर्माण, प्रदेशका योजना बनाउने लगायतका कामकाज हेर्दा सन्तोषजनक नै देखिएको उहाँले बताउनुभयो । 

‘संविधान बमोजिम संघीय कानुनको निर्माणको प्रतिक्षाले गर्दा प्रदेशमा अपेक्षित कार्य प्रगति नदेखिए पनि आरम्भीक कार्यावलोकनबाट जे जति भएको छ त्यसलाई उपलब्धी मान्नु पर्ने हुन्छ’, कुँवरले भन्नुभयो ।

काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले गण्डकी प्रदेशको काम हेर्दा सन्तोषजनक नरहेको बताउनुभयो । साधनस्रोतको उचित प्रयोग भएको भए जनताको अपेक्षा अनुसारको काम हुने थियो भन्दै अहिलेसम्म ४० प्रतिशत काम सकिनुपर्नेमा त्यो हुन नसकेकोे उहाँ बताउनुहुन्छ । 

कांग्रेसका अर्का नेता कुमार खड्काले सरकारबाट अपेक्षा धेरै भएपनि अपेक्षा अनुसार प्रदेश सरकारले काम गर्न नसकेको बताउनुभयो । कामहरु कागजमा मात्र सिमित राख्दा प्रदेश सरकारको यो एक वर्ष असफल भएको र  अत्यन्तै महत्वपूर्ण समय खेर फालेको उहाँको भनाइ छ । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया