सडकमा कष्टकर जीवन बिताउने नागरिकलाई पाल्न तयार छौँ: मुख्यमन्त्री पौडेल

 फागुन ४, २०७५ शनिबार १८:५२:७ | हरि हुमागाईं

हेटौंडा – मकवानपुर जिल्लालाई सहयोगापेक्षी सडक मानवमुक्त जिल्ला घोषणा गरिएको छ । 

विभिन्न कारणले मानसिक सन्तुलन गुमाएर सडकमा बस्न विवश नागरिकलाई अब त्यसबाट उद्धार गरेर आश्रममा राख्ने अभियान अनुसार सडक मानवमुक्त जिल्ला घोषणा गरिएको हो । 

जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा मानवीय जागरण अभियानमा सहभागी बनाँै भन्ने मूल नाराका साथ हेटौंडामा बाजा बजाएर यसको घोषणा गरिएको हो । 

अहिले हेटौंडाको दुई ठाउँमा मानसिक सन्तुलन गुमाएकाहरुलाई मानव सेवा आश्रममा राखिएको छ । अरु पाँचवटा वृद्धाश्रममा वृद्धावृद्धाहरुलाई राखिएको छ । 
       
घोषणा कार्यक्रमको उद्घाटन् गर्दै तीन नंम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले चार वर्ष भित्रमा तीन नंम्बर प्रदेशका १३ वटै जिल्लामा घोषणा गरेर कार्यान्वयनमा लैजाने बताउनुभयो । साथै उहाँले सडकमा कष्टकर जिवन बिताउन बाध्य भएका नागरिकको उद्धार गरेर पालन पोषण गर्नका लागि प्रदेश सरकार तयार रहेको बताउनुभयो । 

मानब सेवा आश्रमलाई यो बर्ष प्रदेश सरकारले ४० लाख रुपैयाँ सहयोग गरेको बताउँदै उहाँले भन्नुभयो, ‘हामीहरु सडक मानवमुक्त भनेर घोषणा मात्र गर्ने होईन, कार्यान्वयन गरेर देखाउने अभियानअनुसार प्रदेश सरकारको यो वर्षको नीति तथा कार्यक्रमबाट नै यो काम गरेका हौ ।’
      
 

अन्तिम अपडेट: चैत १५, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया