गुट–उपगुटले नेपाली काङ्ग्रेस कमजाेर बन्याे : महामन्त्री कोइराला

 फागुन ५, २०७५ आइतबार ७:२९:५५ | रासस
unn.prixa.net

पर्सा – नेपाली काङ्ग्रेस भित्रको गुट–उपगुटले पार्टीलाई कमजोर बनाएको काङ्ग्रेसका नेताहरुले धारणा व्यक्त गरेका छन् । गिरिजाप्रसाद कोइराला फाउण्डेशनले शनिबार वीरगञ्जमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका नेताहरुले पार्टीभित्रको गुट–उपगुटलाई समाप्त नपारे सङ्घीयता नै धरापमा पर्ने खतरा उत्पन्न भएको विचार व्यक्त गरेका हुन् ।

जीपी फाउण्डेशन पर्साको कार्यालय उद्घाटन तथा फोटो प्रदर्शनी कार्यक्रममा नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले पार्टीभित्रको गुट–उपगुटले काङ्ग्रेसलाई कमजोर बनाएकाले जनताका मुद्दामा सङ्घर्ष गर्नका लागि पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा जीपी फाउण्डेशनकी केन्द्रीय अध्यक्ष सुजाता कोइरालाले स्व. गिरिजाप्रसाद कोइरालाले राखेको संसद् पुनर्स्थापनाको जगले नै राष्ट्रलाई निकास दिएको तथ्यलाई कसैले पनि बिर्सिन नहुने चर्चा गर्नुभयो । उहाँले जिपी कोइराला फाउण्डेशनले देशभरि सामाजिक कार्य मात्र गर्ने जानकारी दिनुभयो । 

जीपी कोइराला फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुद्दिनको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपाली काङ्ग्रेसका नेताहरुभित्र अहिले नैतिकता र संस्कारको कमी भएको धारणा व्यक्त गर्नुभयो । “नैतिकता नभएका व्यक्तिले राजनीतिक गर्नु नै सामाजिक अपराध हो र नैतिकता तथा संस्कारको कमी नेपाली काङ्ग्रेस पार्टीभित्र देखिएको छ,” उहाँले भन्नुभयो । 

कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य रमेश रिजाल, अफताब आलम, अजयकुमार चौरसिया, पूर्वमन्त्री सुरेन्द्र चौधरी लगायतका वक्ताले मुलुकमा बढ्दै गएको महँगी, हत्या, हिंसा, बलात्कार र भ्रष्टाचारले नेपाली जनता मारमा परे पनि सरकारले केही नगरेको आरोप लगाउनुभयो । 

यही अवसरमा लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका पाँच जना व्यक्तिलाई महामन्त्री डा. कोइरालाले दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो । स्व. गिरिजाप्रसाद कोइरालाको जीवनका महत्वपूर्ण घटनालाई दर्शाउने तस्बीरहरुलाई कार्यक्रममा प्रदर्शित गरिएको थियो । 
 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया