पूर्वप्रधानमन्त्री देउवाले बिरामीको पैसा खोस्नुभयो : सांसद अधिकारी

 असार ८, २०७५ शुक्रबार १६:४३:५९ | उज्यालो सहकर्मी

काठमाडौं – नेकपाका सांसद खगराज अधिकारीले पूर्ववर्ती सरकारले विरामीलाई दिने भनी घोषणा गरेको पैसा आफैले खोसेको आरोप लगाउनुभएको छ । 

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा स्वास्थ्य मन्त्रालय अन्तर्गत विभिन्न शीर्षकमा विनियोजित बजेटमाथिको छलफलमा आफ्नो धारणा राख्दै पूर्व स्वास्थ्यमन्त्री अधिकारीले  तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले नै बिरामीको पैसा खोस्न लगाएको आरोप लगाउनुभएको हो ।

पूर्ववर्ती कांग्रेस नेतृत्वको सरकारले बाहिरिदै गर्दा बिना बजेट शीर्षकमा किड्नी, स्पाइनल इन्जुरी,  स्ट्रोकका बिरामीलाई  प्रतिमहिना ५ हजार रुपैयाँ भत्ता दिने निर्णय गरी हस्पिटलमा नाटक मञ्चन गर्ने काम गरेको टिप्पणी उहाँले गर्नुभयो । उहाँले पूर्व स्वास्थ्यमन्त्री गगन थापालाई व्यङ्ग्य गर्दे भन्नुभयो, ‘पूर्व मन्त्री गगन थापाले नै यो काम गर्नुहुन्थ्यो होला । उहाँले खोज्दा खोज्दै नपाएर छोड्नुभयो होला ।’

किड्नीको निःशुल्क ट्रान्सप्लान्ट र बिरामीलाई भत्ता दिने निर्णय गरेको सरकारका प्रधानमन्त्रीले नै बिरामीको पैसा खोसेको आरोप उहाँले लगाउनुभयो ।  उहाँले भन्नुभयो, ‘तिमीलाई पैसा दिएँ भनेर कसैले पैसा पाएको छैन । पैसा पाउँदाको भोलिपल्ट खोस्न सम्मानीय प्रधानमन्त्री शेरबहादुर देउवाले नै लगाउनुभयो भनेर त्यही बिरामीले भन्छ ।’ स्वास्थ्यलाई पूर्ववर्ती सरकारले खेलवाडको रुपमा लिएको भन्दै उहाँले भन्नुभयो, ‘स्वास्थ्य खेलवाड गर्ने ठाउँ होइन ।’

आफ्नै नेतृत्वमा स्वास्थ्य नीति बनेको र त्यसकै आधारमा  १५ जिल्लामा सुरु गरेको स्वास्थ्य बीमा पाइलटिङ कार्यक्रमको श्रेय सांसद थापाले लिन खोजेको भन्दै आपत्ति जनाउनुभयो । सामाजिक स्वास्थ्य बिमा कार्यक्रमलाई नामै परिर्वतन गरेर स्वास्थ्य बिमा बनाई पूँजीपति वर्ग र धनाढ्यका लागि काम गरेर पूर्ववर्ती सरकारका मन्त्रीले वर्तमान सरकारले बिपन्नलाई गरेन भनेर खर्च कटौती प्रस्ताव गरेको भन्दै पूर्वमन्त्री थापाप्रति कटाक्ष गर्नुभयो ।

औषधिको मूल्य निर्धारण गरेको आफूले गरेको र त्यसयता औषधिको मूल्य निर्धारण हुन नसकेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गर्नुभयो ।  पूर्व स्वास्थ्यमन्त्री गगन थापाले खर्च कटौतीको प्रस्ताव पेश गरेपछि सांसद अधिकारीले विनियोजित बजेटमाथि धारणा राख्नुभएको थियो ।

शुक्रबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विभिन्न शीर्षकमा विनियोजित बजेटमाथिको छलफल सकिएको छ ।

प्रतिनिधिसभाको अर्को बैठक आइतबारका लागि बोलाइएको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया