मालपोत कार्यालय सप्तरीका दुई कर्मचारी घुससहित अख्तियारको नियन्त्रणमा

 फागुन ५, २०७५ आइतबार १८:०:१ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – मालपोत कार्यालय सप्तरीका दुई जना कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको टोलीले मालपोत कार्यालय सप्तरीका मुद्धा तथा प्रशासन फाँटका नायब सुब्बा राम नारायण शर्मा तथा कम्प्युटर अपरेटर राजेश कुमार साहलाई ३ हजार घुससहित रंगेहात पक्राउ गरेको हो । 

मोही जग्गाको बाँडफाँड भई श्रेष्ता कायम गराइदिने भन्दै विभिन्न बहानामा एक जना सेवाग्राहीबाट ३ हजार घुस लिँदा लिँदै पक्राउ गरेको अख्तियारले जनाएको छ । 
पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धानको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग ईटहरी लगिएको छ । यसअघि सप्तरीको राजविराजमा रहेको मालपोत कार्यालयमा सेवाग्राहीहरुलाई सहज तरीकाबाट सेवा प्रदान गर्नका लागि अनलाइन प्रणाली सुरु गरे पनि सेवाग्राहीहरुसँग बिनाघुस अझै काम हुन सकेका छैन । 

अनलाइन प्रणालीको नाउँमा सेवाग्राहीहरुलाई एक दिनको काम झन ४÷५ दिनमा हुने गरेको तथा अझै पनि मालपोत कार्यालय सप्तरीमा बिनाघुस कुनै काम नहुने गरेको सेवाग्राहीहरुको आरोप छ । 

अहिले अनलाइन प्रणालीबाट मालपोतमा कम्प्युटर मोठ भिडाउने, रोक्का फुकुवा, मोठ फाँटमा मोठ भिडाउने, मुल्यांकन जाँच अर्थात टोकन लगाउने, कम्प्युटर इन्ट्री, रजिष्टे«शन फाँट र पुर्जा प्रिन्ट कम्प्युटरबाटै शुरु गरेका छन् । 

तर सबैभन्दा बढी भ्रष्टाचार मूल्याकन जाँच अर्थात टोकनमा हुने गरेको एक सेवाग्राहीले नाम उल्लेख नगर्ने शर्तमा बताएका छन् ।

सो फाँटमा बिनाघुस ५ दिन पहिले दिएको मोठ भिडाउने काम घुस नदिँदा हुन सकेको छैन, तर घुस दिँदा तुरुन्त टोकन दिने गरेको श्रोतको दाबी रहेको छ । 

त्यस्तै मालपोत कार्यालय सप्तरीमा बिना घुसको दर्ता, चलानीदेखि लिएर कार्यालय प्रमुखसम्म बिना घुसको कुनै पनि समान्य काम पनि बिना घुसको नहुने गरेको श्रोतले जनाएको छ । 

श्रोतका अनुसार मालपोत कार्यालय सप्तरीमा १० रुपैयाँदेखि १ लाखसम्म घुसको कारोबार दैनिक हुने गरेको छ । जसका कार्यालयका तल्लो स्तरका कर्मचारीदेखि कार्यालय प्रमुखसम्मको संलग्नता रहेको देखिन्छ । 

यसरी खुलेआम रुपमा मालपोत कार्यालयमा भइरहेको घुसखोरी नियन्त्रण गर्नेतर्फ समयमै सम्बन्धित निकायको ध्यान जानुपर्ने जरुरी रहेको सेवाग्राहीहरुले माग गरेका छन् ।

त्यस सम्बन्धमा मालपोत कार्यालय सप्तरीका प्रमुख सिकिन्द्र साहसँग सम्पर्क गर्दा उहाँसँग सम्पर्क हुन सकेन ।

अन्तिम अपडेट: चैत १३, २०८०

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया