ब्राजिललाई रोकेको स्विट्जरल्याण्डलाई रोक्ला त सर्बियाले ?

 असार ८, २०७५ शुक्रबार १७:४२:४० | उज्यालो सहकर्मी
unn.prixa.net

विश्वकपको समूह ई अन्तर्गतको दोस्रो खेलमा आज राति सर्बिया र स्विट्जरल्याण्ड आमने सामने हुँदैछन् । कलिनिङगार्ड मैदानमा हुने खेल नेपाली समय अनुसार पौने १२ बजे हुनेछ ।

पहिलो खेलमा कोस्टारिकालाई हराएर तीन अंक जोडेको सर्बियाले स्विट्जरल्याण्डविरुद्ध जित निकाल्न सकेको खण्डमा उसले नकआउट चरणमा स्थान बनाउनेछ । पहिलो खेलमा कोस्टारिकाविरुद्धको जित र अविश्वसनीय रुपमा स्विट्जरल्याण्डले ब्राजिललाई १–१ गोलको बराबरीमा रोकेको अवस्थामा सर्बियाको नकआउट चरण पुग्ने सम्भावना प्रबल छ ।

सर्बिया स्वतन्त्र भएपछि उसले अहिलेसम्म नकआउट चरणमा प्रवेश गर्न सकेको छैन । अघिल्लो सन् २००६ र २०१० को विश्वकप खेलेको सर्बियाले प्रिक्वार्टरफाइनलको यात्रा तय गर्न सकेन ।

कोस्टारिकाविरुद्धको खेलमा उत्कृष्ट फ्रिकिक प्रहार गर्दै अलेक्सजेन्दर कोलारोभले सर्बियालाई जित दिलाएका थिए । युरोपेली प्रतिद्वन्द्वीविरुद्धको खेलमा तीन अंक जितेर प्रिक्वार्टरफाइनल पुग्ने लक्ष्य सर्बियाको छ । ‘स्विट्जरल्याण्डविरुद्धको खेलमा बराबरीको रणनीतिका साथ हामी खेल्ने छैनौँ । हामी जितका लागि खेल्नेछौँ’, कोलारोभले भने ।

ब्राजिलजस्तो ‘हेभीवेट’ टिमलाई बराबरीमा रोक्दै मनोबल उच्च बनाएको स्विट्जरल्याण्डलाई पनि जितको आवश्यकता रहनेछ । तालिकामा उसको  ब्राजिलसँग खोसेको एक अंक छ । सर्बियामाथि जित निकालेको खण्डमा उसले ४ अंक बनाउनेछ र नकआउटको सम्भावना पनि चुलिनेछ । स्विट्जरल्याण्ड सर्बियासँग पराजित हुनु भनेको समूह चरणबाटै बाहिरिने करिब पक्कापक्की हुनु हो । किनभने ब्राजिलले कोस्टारिकालाई हराएमा र स्विट्जरल्याण्ड सर्बियासँग पराजित भएको खण्डमा उसको यात्रा धरमराउनेछ ।

सर्बियाका प्रशिक्षक म्लादेन क्राष्टाजिचले पनि स्विट्जरल्याण्डको प्रशंसा गरेका छन् । ‘स्विट्जरल्याण्ड निकै बलियो र अनुभवी छ । छनोट चरणमा २७ अंक जोडेर रसियाको यात्रा तय गर्नुले यो प्रमाणित गर्दछ’, क्राष्टाजिकले भने,  ‘उसको प्रशिक्षक पनि उत्कृष्ट छन् ।’

तर स्विट्जरल्याण्डका लागि एउटा समस्या छ, त्यो हो भालोन बेहरामीको चोट । तर उनको चोटले सर्बियाविरुद्धको खेलका लागि समस्या नदिने अनुमान प्रशिक्षकको छ । थकान स्विट्जरल्याण्डका लागि अर्को समस्या बन्न सक्दछ । उसले सामारामा ब्राजिलविरुद्ध खेलेको थियो । त्यहाँबाट ६ घण्टा यात्रा गरेर आउनु पर्ने कारण खेलाडीहरुमा केही थकान महसुस हुन सक्नेछ । ‘थकित छौं, तर पूर्ण रुपमा तयार छौं ।’ स्वीट्जरल्याण्डका डिफेन्डर फावियन स्कारले भने ।

म्याच फ्याक्ट

–सर्बिया स्वतन्त्र राष्ट्र बनेपछि स्विट्जरल्याण्डसँग  खेल्न लागेको पहिलो पटक हो । यसअघि युगोस्लाभियासँग भने स्विट्जरल्याण्डले १३ पटक खेलेको थियो । जसमा युगोस्लाभियाले ६ जित, ५ बराबरी र २ हारको नतिजा निकालेको थियो ।

–पछिल्लो २३ खेलमा स्विट्जरल्याण्डले एक खेलमात्र हारेको छ । उसले १६ खेल जितेको थियो भने ६ वटामा बराबरी गरेको थियो । एकमात्र हार उसले युरोकप छनोट प्रतियोगितामा पोर्चुगलसँग हार ब्यहोरेको थियो ।

प्लेयर्स टू वाच

सेर्जे मिलिनकोभिच–साभिक – सर्बिया

स्विट्जरल्याण्डविरुद्धको खेलमा सबैको नजर सेर्जे मिलिनकोभिच–साभिकमा हुनेछ । इटालियन क्लब लाजियोमा खेल्दै गरेका २३ वर्षे मिडफिल्डर साभिकलाई अहिले युभेन्टस, म्यानचेस्टर युनाइटेड र रियल मड्रिडले समेत नयाँ सिजनका लागि अबद्ध गर्न इच्छुक देखिएका छन् । उनले पाँच अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् ।

स्टेफेन लिच्स्टेनर – स्विट्जरल्याण्ड

यसै सिजन युभेन्टसबाट इंग्लिस क्लब आर्सनलमा आबद्ध भएका भेट्रान डिफेन्डर स्टेफेन लिच्स्टेनर इतिहास रचेका छन् । २४ वर्षे डिफेन्डरले स्वीट्रल्याण्डका लागि सबैभन्दा धेरै पटक विश्वकप खेल्ने कीर्तिमान बनाउने क्रममा छन् । ब्राजिलविरुद्धका खेलमा विश्वकपमा आठ क्याप जितेका लिच्स्टेनरले आजको खेलमा नवौं खेल खेल्दैछन् ।
 
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया