रुकुम पूर्वमा जम्मू–कश्मीरबाट ल्याइयो ओखरका ८ हजार बिरुवा

 फागुन ६, २०७५ सोमबार १४:२५:२६ | राजु लामिछाने
unn.prixa.net

रुकुम पूर्व – भारतको जम्मू–कश्मीरबाट ८ हजार ओखरका बिरुवा रुकुम पूर्वमा ल्याइएको छ । जिल्लामा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाअन्तर्गत ‘ओखर जोन’ कार्यक्रम लागु भएसँगै भारतबाट बिरुवा ल्याइएको हो ।

सञ्चालक समितिको मागअनुसार जम्मू–कश्मीरबाट ‘कश्मीरी थिनसेल टुसा’ जातको टिस्यू कल्चरबाट उत्पादित ८ हजार ओखरका बिरुवा जिल्लामा ल्याएर वितरण गरिएको परियोजनाका निमित्त वरिष्ठ कृषि अधिकृत भिष्मराज रेग्मीले जानकारी दिनुभयो ।

३ स्थानीय तह रहेको यस जिल्लामा ओखर खेतीका लागि पुथा उत्तरगङ्गा गाउँपालिकाको ४०, सिस्नेको २० र भुमेको १५ हेक्टर क्षेत्रफल जग्गा विस्तार गरिएको छ । पुथा उत्तरगङ्गा गाउँपालिकामा ४ हजार ४ सय, सिस्ने गाउँपालिकामा २ हजार र भुमे गाउँपालिकामा १ हजार ६ सय ओखरका बिरुवा वितरण गरिएको अधिकृत रेग्मीले जानकारी दिनुभयो ।

‘ओखर जोन’ लागु भएका सबै क्षेत्रको माटो परिक्षणपश्चात विरुवा वितरण गरिएको बताइएको छ । माटोमा पी.एच, नाइट्रोजन, फस्फोरस र पोटासको परीक्षण गरिएको थियो । यसैगरी परियोजनासम्बन्धी जानकारी सबैमा होस भनी सञ्चालक समिति गठन गरी तीनवटै स्थानीय तहका कृषि समूह, सहकारी, उद्यमी तथा जनप्रतिनिधिहरुसँग अभिमुखीकरण गोष्ठी पनि परियोजनाले सम्पन्न गरेको थियो ।

जिल्लामा ‘ओखर जोन’ कार्यक्रम लागु भएसँगै परियोजनाले नै ओखर बगैँचा व्यवस्थापनदेखि बजारीकरण र औद्योगीकरणसम्म सहयोग र सहकार्य गर्ने भएपछि ओखर खेतिप्रति आफूहरु निकै उत्साहित भएको कृषक कलबहादुर घर्तीले बताउनुभयो ।

‘ओखर खेतीप्रति किसानहरु निकै उत्साहित छन्,’ अधिकृत रेग्मीले भन्नुभयो, ‘ओखरको बिरुवाको माग पनि धेरै आएको छ, तर मागअनुसारको बिरुवा यस वर्ष पु¥याउन सकिएन ।’ यस वर्ष बजेट थोरै आएकोले कार्यक्रम गर्न समस्या भएको छ । यस वर्ष सफल भए भने अर्को वर्षबाट सबै कुरामा व्यवस्थापन गरेर अगाडि बढ्ने उहाँको भनाइ छ ।

हाडे ओखर उत्पादन भइरहेको जिल्लाका विभिन्न ठाउँहरुमा दाँते ओखरलाई व्यवसायीकरण गराउन जिल्लामा ओखर जोन’ कार्यक्रम सुरु गरिएको हो । यस क्षेत्रको अधिकांश ठाउँमा हाडे ओखर उत्पादन भइरहेको छ । यहाँको अधिकांश क्षेत्रमा दाँते ओखर उत्पादन हुने सम्भावना भएपछि कार्यव्रmम लागु गरिएको बताइएको छ । 

सिस्ने गाउँपालिकाको वडा नम्बर १, २, ४, ६, भुमे गाउँपालिकाको २, ३, ६,७, ८ र पुथा उत्तरगङ्गा गाउँपालिकाको ५, ६,७, ८, १३, १४ नम्बर वडालाइ समेटेर ‘ओखर जोन’ कार्यव्रmम सुरु गरिएको छ । कार्यक्रम सुरु भएपछि ओखर खेती गर्न चाहने कृषकलाई लाभ पुगेको कृषक घर्तीले बताउनुभयो । 
 

अन्तिम अपडेट: फागुन २८, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया