‘श्रीमतीले उजुरी गर्दा कारबाहीमा परेंँ, अब रक्सी खान्नँ’

 फागुन ७, २०७५ मंगलबार ७:३३:३३ | रासस
unn.prixa.net

अछाम – मङ्गलसेन नगरपालिका–१, का हर्क रानाले रक्सीले मातेर घरमा तनाव दिन थालेपछि उहाँकी श्रीमती साबी रानाले वडा कार्यालयमा उजुरी गर्नुभयो ।

आफ्नै श्रीमतीले उजुरी गरेपछि हर्कले तीन हजार रुपैयाँ जरिबाना तिर्नुभयो । आफूले रक्सी पिएबापत श्रीमतीकै उजुरीले जरिबाना तिरेर सामाजिक रूपमा लज्जित भएपछि रक्सी पिउन छाडेको हर्क बताउनुहुन्छ ।

कारबाहीमा पर्नुअघि दिनभर रक्सीले लठ्ठिरहने उहाँ दुई महिनायता घरायसी र बाह्य काममा समेत सक्रिय हुनुहुन्छ । ‘रक्सीकै कारण श्रीमतीले उजुरी गरेर मलाई बेइज्जत गराइन्, स्वास्थ्यमा पनि समस्या हुने, आर्थिक रूपमा पनि एक वर्षको अवधिमा एक लाख ४० हजार रुपैयाँ त रक्सीमै सकियो होला’, रानाले भन्नुभयो, ‘अब त रक्सी पिउँदिनँ ।’ आफूले रक्सी छाडेपछि श्रीमती, छोराछोरी र समाजले पनि खुशी मनाएको उहाँको भनाइ छ । राना थप्नुहुन्छ, ‘श्रीमतीको उजुरीपछि कारवाहीमा परेँ, सामाजिक रूपमा बदनाम भयो, अब कहिल्यै रक्सी पिउँदिनँ ।’

रक्सीले सामाजिक, आर्थिक, शारीरिक र मानसिक विकासमा बाधा पु¥याइरहेको भन्दै मङ्गलसेन नगरपालिका र वडा नं १ कार्यालयले मदिरा व्यवस्थापनमा कडाइ गरेपछि महिला सबैभन्दा बढी खुशी छन् । घरायसी कामको बोझ, आर्थिक समस्या, त्यसमाथि हरेक पुरुषले रक्सी पिएर तनाव दिँदा आजित महिलाले मदिरा व्यवस्थापन मात्रै नभई मदिरा बन्द गर्नुपर्ने माग गरिरहेका छन् । 

नगरपालिकाले नगर क्षेत्रभित्र बिहान सूर्योदयदेखि बेलुका सूर्यास्त नहुँदासम्म रक्सी बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध गर्ने निर्णय गरेमुताविक वडाले निर्णयलाई कडाइका साथ कार्यान्वयन गरेपछि व्यवस्थापन कार्य प्रभावकारी भएको छ । 

नगरपालिकाका १४ वटै वडामध्ये वडा नं १ ले रक्सी व्यवस्थापनमा नमुना काम गरेको भन्दै वडाका सरोकारवाला पनि खुशी छन् । स्थानीय समाजसेवी रामराजनाथ भन्नुहुन्छ, ‘रक्सीले अस्तव्यस्त भइरहेको समाजलाई मदिरा सेवन तथा बिक्रीको समय निर्धारण गरी व्यवस्थापन गर्दा पनि निकै फाइदा भएको छ, अब मदिरारहित समाज बनाउन सबै लाग्नुपर्छ ।’ 

वडा कार्यालयले सञ्चालन गरेको मदिरा व्यवस्थापन अभियानमा करिब एक वर्षको अवधिमा ३९ जना कारबाहीमा परेका छन् । तोकिएको समयभन्दा अन्य समयमा रक्सी पिउने तथा बिक्रीवितरण गर्नेहरुलाई कारबाही गरी जरिवानाबापत  ४५ हजार ५०० रुपैयाँ उठाएको समेत वडा कार्यालयले जानकारी दिएको छ । 

वडाले बिहानदेखि बेलुकासम्म रक्सी पिउन नपाउने नियम बनाएपछि पुरुषहरू सुध्रिएको महिलाको भनाइ छ । महिला स्वयंसेविकासमेत रहनुभएकी मोती साउदले मदिरा सम्पूर्ण रूपमा बन्द हुनुपर्ने माग गर्नुभयो । उहाँले भन्नुभयो, ‘रक्सीले धेरैलाई घरबारविहीन बनाइसक्यो, हाम्रो दुस्मन भनेको नै रक्सी हो, त्यसैले सरकारले पनि यसलाई बन्द गराउनुपर्छ ।’ 

मङ्गलसेन–१ मा मदिरा व्यवस्थापनकार्य प्रभावकारी देखिएपछि अब मदिरामुक्त वडा बनाउने अभियानमा लाग्नुपर्ने आवाजसमेत उठ्न थालेको छ । वडालाई मदिरामुक्त बनाएर समृद्ध र नमुना बनाउने अभियानमा आफू लागेको बताउँदै वडाध्यक्ष गोपाल थापाले यस कार्यमा सबैको साथ चाहिने बताउनुभयो । 

वडा नम्बर १ ले मदिरा व्यवस्थापन कार्यलाई सहज ढङ्गले सफल बनाएकामा खुशी व्यक्त गर्दै मङ्गलसेन–३ का अध्यक्ष पदमसिंह भाटले यसको सिको अन्य वडाले पनि गर्न जरुरी रहेको बताउनुभयो । वडा नम्बर १ ले गरेको राम्रो कार्यका कारण नगरका अन्य वडाध्यक्षलाई पनि सक्रिय बन्न प्रेरणा मिलेको अध्यक्ष भाटको भनाइ छ । वडा नम्बर २ का अध्यक्ष मानबहादुर बोगटीले नगरको समग्र विकासका लागि मदिरा नियन्त्रण पहिलो चुनौती रहेको भन्दै आफूहरु सामुहिक रूपमा मदिराविरुद्ध लागिरहेको बताउनुभयो । 

नगरपालिका प्रमुख पदमबहादुर बोहराले जस्तोसुकै चुनौती आइलागे पनि मदिरा व्यवस्थापन गरेरै छाड्ने बताउनुभयो । मदिरा व्यवस्थापनका लागि कानुनले तोकेको समयावधि र सार्वजनिकस्थलबाट २०० मिटर टाढामात्रै बिक्री तथा सेवन गर्नुपर्ने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गरिने नगरप्रमुख बोहराको भनाइ थियो ।

नगरपालिकाले युवालाई व्यावसायिक सीप विकासमा अग्रसर गराउँदै कृषि उत्पादन, फलफूल खेती, पशुपालन र उद्यमशील कार्यमा लगाउने लक्ष्य राखेको छ । नगरवासीलाई आयआर्जनका क्रियाकलापमा सक्रिय गराई आत्मनिर्भर बनाएर समृद्ध नगर बनाउन आफू प्रयत्नशील रहेको भन्दै नगरप्रमुख बोहराले त्यसका लागि मदिरालगायत सामाजिक विकृति विसङ्गतिको अन्त्य जरुरी बताउनुभयो ।
 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया