महिला टी–२० विश्वकप छनाैट : मलेसियालाई ३४ रनले हराउँदै नेपालकाे विजयी सुरुवात

 फागुन ७, २०७५ मंगलबार १२:४:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी महिला टी–२० विश्वकपको एसिया क्षेत्रीय छनोटमा नेपालले जितका साथ प्रतियोगिता सुरुवात गरेको छ ।

आज भएको खेलमा नेपालले मलेसियालाई ३४ रनले हरायो । थाइल्याण्डको बैककमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ५ विकेट गुमाउँदै एक सय २६ रन बनायो ।

बलियो सुरुवात गरेको नेपालले पहिलो विकेटका लागि ४६ रनको साझेदारी गरेको थियो । तर काजल श्रेष्ठ १६ रनमा आउट भएपछि नेपालले पहिलो विकेट गुमायो । त्यसपछि नेपालले ७१ रन बनाउँदा दोस्रो विकेट खेर फाल्यो । नेपालकी इन्दु बर्मा १३ रनमा आउट भइन् ।

त्यसपछि नेपालका लागि आक्रामक पारी खेलिरहेकी सिता रानामगर ४२ रनमा बोल्डआउट हुँदा नेपालको स्कोर ९६ रन थियो । त्यसपछि पनि नेपाली खेलाडी नेरी थापा र रुबिना क्षेत्रीले नेपालको पारीलाई अगाडि बढाउन प्रयास गर्दा नेरी मात्र ६ रनमा रनआउट भइन् । जसका कारण नेपालले एक सय १५ रनमा चौथो विकेट गुमायो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले अविजित ३३ रनको योगदान गरिन् ।

जवाफमा मलेसिया २० ओभरमा सात विकेट गुमाउँदा ९२ रनमा रोकियो । नेपालले मलेसियालाई सुरुवात देखि नै दबावमा राख्न सफल भयो । उसको स्कोर ५ रन हुँदा पहिलो विकेट लिन सफल भयो भने १० रन हुँदा दोस्रो विकेट झार्‍यो । उसकी ओपनर यस्रिना याकोव ५ रनमा आउट भइन भने सोइ एईलाई खाता खोल्न नपाउँदै रनआउट भइन् ।

त्यसपछि तेस्रो विकेटका लागि मलेसियाले ४३ रनको साझेदारी गर्दै सम्हालिने प्रयास गरेको थियो । तर उसको स्कोर ५३ रन हुँदा क्रिस्टियन बारेटलाई करुण भण्डारीले २१ रनमा आउट गरिन् । त्यसपछि उसले अरु १२ रन थप्दा २ विकेट गुमायो । जसमा कप्तान विनफ्रेइड १८ रनमा आउट भइन् भने मासा इलिसा मात्र ६ रनमा पेभेलियन फर्किइन् । यस्तै वान जुलीया पनि मात्र ८ रनमा आउट भएपछि उसको स्कोर ७६ रन थियो । त्यसको लगत्तै जामीका अज्मी पनि मात्र तीन रनमा पेभेलियन फर्किइन् ।

बलिङमा नेपालका लागि करुणा भण्डारी र सरिता मगरले दुई-दुई विकेट लिए ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया