यसरी मनाइयाे टुँडिखेलमा प्रजातन्त्र दिवस (फोटो फिचर)

 फागुन ७, २०७५ मंगलबार १२:४७:३५ | रासस
unn.prixa.net

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारी ६९औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित प्रजातन्त्र दिवस मूल समारोहमा सरिक हुनुभयो ।

नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट निरङ्कुश राणा शासनको अन्त्य र प्रजातन्त्रको थालनी भएको स्मरणमा हरेक वर्ष फागुन ७ गतेका दिन राष्ट्रिय प्रजातन्त्र दिवसको रूपमा मनाउने गरिन्छ ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र दिवस २०७५ मूल समारोह समितिका अध्यक्ष केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित हुनुहुन्थ्यो । 

त्यस अवसरमा उपप्रधानमन्त्री, मन्त्रिगण, संवैधानिक नियोगका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकृत एवं कूटनीतिक नियोगका प्रमुखको उपस्थिति थियो ।

त्यस अवसरमा नेपाली सेनाको हेलिकप्टरबाट ६९औँ राष्ट्रिय प्रजातन्त्र दिवस २०७५ अङ्कित ब्यानर प्रदर्शन, पुष्पवृष्टि गरिएको थियो । समारोहमा बेलुन र परेवासमेत उडाइएको थियो ।

त्यस अवसरमा ज्ञात–अज्ञात शहीदहरूप्रति उच्च सम्मान र श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चिरशान्तिका लागि एक मिनेट मौन धारण गरिएको थियो । समारोहमा राष्ट्रिय गान प्रस्तुत गरिनुका साथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्काउटलगायतका सङ्घ संस्थाबाट मार्चपास गरिएको थियो ।

समारोहमा काठमाण्डाै र ललितपुर महानगरपालिका, भक्तपुर, मध्यपुर, थिमि, कीर्तिपुरद्वारा आ–आफ्नो क्षेत्रका विविध सांस्कृतिक झलकसहितका झाँकी प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलद्वारा राष्ट्रिय गीतका धुनहरुसहितको साङ्गीतिक धुन प्रस्तुत गरिएको थियो । प्रजातन्त्र दिवसको कार्यक्रम हेर्न टुँडिखेल वरपर सर्वसाधारणको भिड लागेको थियो ।

 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया