सीवाइसी अत्तरिया धनगढी प्रिमियर लिगको फाइनलमा

 फागुन ८, २०७५ बुधबार १५:४९:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

सीवाइसी अत्तरिया धनगढी प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ । साविक उपविजेता टिमलाई ४१रनले हराउँदै अत्तरिया डीपीएलको इतिहासमा पहिलो पटक फाइनलमा पुग्न सफल भयो ।

फाप्ला मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अत्तरीयाले २० ओभरमा ८ विकेट गुमाउँदै एक सय १० रन बनायो । मध्यम सुरुवात गर्दै अत्तरियाले २६ रनमा पहिलो विकेट गुमायो । उसका ओपनर जयकिशन कोल्सावाला मात्र १३ रनमा आउट भए । त्यसको लगत्तै रित गौतम खाता नखोली पेभेलियन फर्किएपछि अत्तरियाले दोस्रो विकेट गुमायो ।

त्यसपछि दिपेन्द्रसिंह ऐरी र सुभेन्दु पाण्डेले तेस्रो विकेटका लागि ३० रनको साझेदारी गरे । अत्तरियाको स्कोरबोर्डमा ६६ रन हुँदा तेस्रो विकेटका रुपमा कप्तान दिपेन्द्रसिंह ऐरी ३३ रनमा आउट भए । त्यसको लगत्तै अर्का खेलाडी सुभेन्दु पाण्डे पनि पेभेलियन फर्किए । उनले १६ रन बनाए ।

पाँचौ विकेटका लागि सन्नी पटेल र जितेन्द्रसिंह ठकुरीले ३५ रनको साझेदारी गरे पनि दुवै खेलाडी एकपछि अर्को रुपमा आउट भएपछि अत्तरियाले एक सय ६ रनमा ६ विकेट गुमायो । सन्नी पटेल २८ रनमा आउट भए भने जितेन्द्र मात्र ६ रनमा पेभेलियन फर्किए । बलिङमा अंकित दबास र सुर्य तामाङले दुई दुई विकेट लिए ।

जवाफमा अत्तरिया १८ ओभर दुई बलमा ६९ रनमा अलआउट भयो । खराब सुरुवात गरेको काठमाडौंले एक रन हुँदा पहिलो विकेट गुमायो भने १३ रन बनाउँदा तीन विकेट खेर फाल्यो ।

ओपनर अनिल शाहले खाता खोलेनन् भने महबुब आलम एक रनमा पेभेलियन फर्किए । यस्तै कप्तान ज्ञानेन्द्र मल्ल पनि ११ रनमा आउट भए । त्यसपछि अंकित दबास मात्र ६ रनमा आउट भएपछि काठमाडौंले ३९ रनमा चार विकेट गुमायो ।

उसका कुनैपनि खेलाडीबीच राम्रो साझेदारी हुने सकेन । एकपछि अर्को विकेट गुमाएको काठमाडौंले ६२ रन बनाउदा आठ विकेट खेर फाल्यो । अन्तत काठमाडौं ६९ रनमा अलआउट भयो । अब काठमाण्डाैले फाइनल प्रवेशका लागि फेरि एकपटक रुपन्देही र महेन्द्रनगरबीचको विजेतासँग खेल्नेछ ।

 

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया