शान्ति सुरक्षा कायम गर्न सरकार सफल रहेको छ : गृहमन्त्री थापा

 फागुन ८, २०७५ बुधबार १६:४६:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गृहमन्त्री रामबहादुर थापाले देशको शान्ति सुरक्षा कायम गर्न सरकार सफल रहेको बताउनुभएको छ ।

बुधबार बसेको राष्ट्रियसभाको बैठकमा थापाले शान्ति सुरक्षा कायम गर्न सरकार सफल रहेको बताउनुभएको हो । उहाँले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछिको हत्यामा संलग्न भएकाहरुको खोजी भइरहेको तथा अपराधी पत्ता लगाउन उदासीनता देखाउने प्रहरीमाथि पनि कारबाही भएको जानकारी गराउनुभयो ।

उहाँले सुन तस्करीको सञ्जाललाई सरकारले ध्वस्त पार्न सफल भएको र सम्बन्धित अपराधीलाई कानुनी कठघरामा ल्याइएको पनिबताउनुभयो ।

सुन काण्डको सवालमा सुन तस्करीमा संलग्न ठूला माछाहरु नियन्त्रणमा आइसकेको भए पनि केही माछाहरु अझै जाल बाहिर रहेको स्वीकार्दै उहाँले तिनीहरुलाई पनि समात्ने र जालमा ल्याउने प्रक्रिया जारी रहेकाे बताउनुभयाे ।

सुन काण्डका सवालमा ठूला माछा अझै नियन्त्रणमा किन आएनन् भन्ने सदस्यहरुकाे जिज्ञासामा थापाले श‍ंका व्यक्त गर्दै भन्नुभयाे, 'ठूला माछा भनेर कसलाई भन्न खोज्नुभएको ? कतै राजनीतिक नेतृत्वलाई इंगित गर्न खोज्नुभएको हो कि ?'

गृहमन्त्री थापाले राजनीतिक आन्दोलनमा मृत्युवरण गरेका सर्वसाधरणलाई  शहीद घोषणा गर्ने प्रक्रिया अघि बढाइएको जानकारी गराउनुभयो । उहाँले यातायात क्षेत्रको सिण्डिकेट कानुनी रुपमा अन्त्य भइसकेको भन्दै अन्य क्षेत्रमा देखिएको सिण्डिकेट पनि अन्त्य गर्दै जाने स्पष्ट पार्नुभयाे । साथै उहाँले  सिंहदरबार प्रवेशमा सहजता ल्याउन पनि आवश्यक गृहकार्य भएकाे बताउनुभयाे ।

निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको प्रमाण लोप गर्ने प्रहरी अधिकारी माथि फौजदारी अपराध संहिता अन्तर्गत मुद्दा चलाउनका लागि माग गरिएको स्मरण गराउदै  राष्ट्रियसभा सदस्य विडारीले काम भयो कि भएन भनी प्रश्न गर्नुभएकाे थियाे । यसकाे जवाफमा गृहमन्त्री थापाले घटनाको प्रमाण लोप गर्ने प्रहरी अधिकारीमाथि अनुसन्धान जारी रहेको र निष्कर्ष आएपछि थप कारबाही गरिने बताउनुभयो ।  

यस्तै राष्ट्रियसभा सदस्य कोमल ओलीकाे राम बहादुर बमजनबारेकाे प्रश्नमा थापाले सरकारले त्यस विषयलाई गम्भीर रुपमा लिइ छानबिन गरिरहेको पनि बताउनुभयाे ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया