खाेप लगाएपछि शिशुको मृत्यु भएकाे भन्दै जिल्ला स्वास्थ्य कार्यालयमा तालाबन्दी

 फागुन ८, २०७५ बुधबार १९:३८:४८ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा – खोप लगाएको कारणले बच्चाकाे मृत्यु भएको भन्दै संखुवासभाको सदरमुकाम खाँदबारीमा रहेको जिल्ला स्वास्थ्य कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । 

बुधबार आक्रोशित अभिभावक र युवाहरुको समूहले जिल्ला स्वस्थ्य कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेको हो । पाँचखपन नगरपालिका–३ घर भै हाल खाँदबारी नगरपालिका-७ मा बस्दै आउनुभएका भविश्वर र कोपिला श्रेष्ठकी तीन महिने छोरी समिक्षाकाे जिल्ला स्वस्थ्य कार्यालयमा खोप लगाएकै कारणले मृत्यु भएको स्थानीयहरुको भनाइ छ ।

मंगलबार जिल्ला स्वास्थ्य कार्यालय खाँदबारीमा खोप लगाएको र त्यही दिन राति शिशुको स्वास्थ्यमा समस्या देखिएको थियो । 

पछिल्लो दिन बिहानै ३ बजे समिक्षालाई अस्पतालमा इमरजेन्सी भर्ना गरेको र त्यहाँ निको नहुने भन्दै  डाक्टरहरुले स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लैजान रिफर गरेका थिए । धरान लैजाने क्रममा बाटोमा बिहान १०ः३० बजे बच्चाको मृत्यु भएको परिवारले बताएका छन् ।

यसअघि पनि पटक–पटक जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयमा यस्ता खालका घटना भएकाे भन्दै  घटनाको बारेमा सत्यतथ्य बाहिर आउनुपर्ने र दोषीमाथि कारबाही गर्नुपर्ने स्थानीयहरुको माग छ । 

बच्चालाई सामान्य रुघाखोकी लागेको र बिरामी भएको भन्दाभन्दै पनि खोप लगाउँदा केही नहुने भन्दै चिकित्सकले खोप लगाएको र बच्चाको मृत्यु भएको स्थानीयबासिन्दाकाे आरोप छ । 

तर जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख ‘मेडिकल सुपरिटेण्डेन्ट’ लक्ष्मण खड्काले भने बच्चाको मृत्युको कारण खोप हो या अरु नै कारण हो भनेर अहिले नै भन्न नसकिने बताउनुभयो । 


 

अन्तिम अपडेट: चैत १४, २०८०

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया