स्वयम्भूनाथदेखि पैदलै कपिलवस्तु आइपुगे धुतांगधारी भिक्षु  !

 फागुन ९, २०७५ बिहिबार ९:५१:३ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु – विश्व शान्तिको कामना गर्दै काठमाण्डौको स्वयम्भूबाट निस्केको धुतांगधारी भिक्षुहरुको टोली  बुधबार प्राचीन कपिलवस्तु दरवार क्षेत्र तिलौराकोट आइपुगेको छ ।  

थाइल्याण्ड, चीन, रुस, नेपाललगायत देशका ६० जना धुतांगधारी भिक्षुहरु काठमाण्डौ थानकोट, मकवानपुरको कुलेखानी, हेटौँडा, रामग्राम, लुम्बिनी हुँदै कपिलवस्तु आइपुगेका हुन् । झण्डै ४ सय १५ किलोमिटरको दूरी पार गरी उनीहरुले ‘स्वयम्भू टु शाक्यमुनि’ पदयात्रा भिक्षुहरुले सम्पन्न गरेका छन् ।

शान्तिको धर्मदेशना गर्दै भिक्षुहरुले १८ दिनको पदयात्रा पछि फागुन पूर्णिमाका दिन शाक्यमुनि बुद्धले २९ वर्ष बिताएको प्राचीन कपिलवस्तु दरबार क्षेत्रको तिलौराकोट पुगेर यात्रा सम्पन्न गरेको भिक्षु वजीरहले बताउनुभयो ।  

पदयात्रामा रहेका भिक्षुहरुलाई कपिलवस्तु जिल्लामा भव्य स्वागत गरिएको छ । सदरमुकाम तौलिहवाका विभिन्न टोलहरुमा भिक्षुहरुलाई भिक्षा दान गरिएको छ । पूर्व राजदूत तथा पूर्व पर्यटन मन्त्री दीपकुमार उपाध्याय, वर्तमान सांसद तथा पूर्व कानुन मन्त्री बृजेशकुमार गुप्ताले यात्रामा रहेका सबै भिक्षुहरुलाई तौलिहवास्थित आ–आफ्ना निवासमा भिक्षा दान गर्नु भएको छ ।

भिक्षुहरुको यस्ता भ्रमणबाट समग्र प्राचीन कपिलवस्तु क्षेत्रको विश्वभर प्रचारप्रसारमा टेवा पुग्ने पूर्व राजदूत उपाध्यायले बताउनुभयो ।

कपिलवस्तु क्षेत्रको विकासको आधार नै बौद्धकालीन पुरातात्विक स्थलहरु रहेको बताउँदै यसको विकास र प्रचारप्रसारमा आफूले सक्दो प्रयास गरिरहेको कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ का सांसद तथा पूर्व कानुन मन्त्री गुप्ताले बताउनुभयो ।  

भगवान गौतम बुद्धले ज्ञान प्राप्त गरी सकेपछि ३६ वर्षको उमेरमा २ हजार भिक्षु गणहरुसहित पहिलो पटक आफ्ना माता पितालाई भेट्न कपिलवस्तु आएको स्मरण गर्दै भिक्षुहरु पनि फागुन शुक्ल पूर्णिमाका दिन प्राचीन कपिलवस्तु पुगेका छन् । भिक्षुहरुको रात्रीवासको व्यवस्थापन कपिलवस्तु बहुमुखी क्याम्पसले गरेको क्याम्पस प्रमुख नवराज तिवारीले बताउनुभयो ।

लुम्बिनीबाट तिलौराकोटसम्मको यात्रा व्यवस्थापन र भिक्षाटन व्यवस्थापनका लागि राम प्रसाद कोइराला, तेजकुमार बौद्धाचार्य, ससुमयी शाक्य, माधवप्रसाद शर्मालगायतका समाजसेवीहरुले सहयोग गर्नु भएको थियो ।

कपिलवस्तु पुगेका भिक्षुहरु यात्रा समापनपछि लुम्बिनी फर्केर भारतको कलकत्ता हुँदै थाइल्याण्ड फर्कने कार्यक्रम रहेको भिक्षु वजीरहले बताउनुभयो ।    

 


 

अन्तिम अपडेट: चैत १५, २०८०

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया