इलामको सन्दकपुरमा टुर प्याकेजसहितको होमस्टे

 फागुन ९, २०७५ बिहिबार १३:१९:३१ | सुजता सुनुवार
unn.prixa.net

इलाम – एक सय नयाँ पर्यटकीय गन्तव्यको सूचीमा सुचिकृत इलामको सन्दकपुर गाउँपालिका वडानम्बर–३ मा रहेको माइपोखरीमा होमस्टे सञ्चालनमा ल्याइएको छ । 

माईपोखरीको देउरालीमा रहेका नौ वटा घरमा सामुदायिक होमस्टे सञ्चालनमा ल्याइएको गाउँपालिका प्रमुख उदय राईले जानकारी दिनु भयो  । 
    
उहाँले भन्नुभयो, ‘पर्यटकीय सम्भावना बोकेको यस गाउँपालिकाका विभिन्न पर्यटकीय क्षेत्रमा पुग्ने पाहुनालाई लक्षित गर्दै गाउँपालिकाले रु पाँच लाख लगानी गरी होमस्टे सञ्चालन गरेको छ । स्थानीय तहको लगानी रहेको माईपोखरी देउराली सामुदायिक होमस्टे स्थानीयको सक्रियतामा सञ्चालन भएको हो ।’ 

नौ वटा घरमा सञ्चालित होमस्टेमा ५० जनाभन्दा धेरैलाई खान र बस्नको व्यवस्था गर्न सकिने क्षमता रहेको होमस्टे सञ्चालक समितिकी लिलादेवी भट्टराईले बताउनुभयो । 

गाउँपालिकामा रहेका पर्यटकीय क्षेत्रहरु माइपोखरी, सन्दकपुर, छिन्टापु, टोड्के झरना, ढापपोखरी, मावुथाम लगायतलाई समेटेर टुर प्याकेज बनाउँदै आफ्नो होमस्टे प्रवद्र्धन गर्ने सञ्चालक समितिको लक्ष्य रहेको भट्टराईको भनाइ छ । 

यी क्षेत्रलाई समेटेर होमस्टे सञ्चालकले निर्माण गर्दै गरेको टुर प्याकेजमा कसरी सहयोग गर्न सकिन्छ भनेर विभिन्न सम्बन्धित संघ सस्थासँग छलफलमा जुटिरहेको गाउँपालिका प्रमुख राईले जानकारी दिनु भयो । 

पर्यटकीय स्थलको घुमघामसँगै स्थानीय उत्पादनको अधिकतम प्रयोग गर्दै सन्दकपुर गाउँपालिकामा बसोबास गर्ने विभिन्न जातजातिका परम्परागत कला, सस्कार संस्कृति र भेषभूषालाई होमस्टेको आकर्षणका रूपमा प्रयोग गरिने अभ्यासमा जुटेको बताइएको छ  । 

सिङ्गो गाउँपालिकामा राई, लिम्बू, शेर्पा, सुनुवार, ब्राम्हण, क्षेत्री, दलित लगायत जातजातिका बसोबास रहेको पाइन्छ । प्रतिमहिना ५०० देखि ७०० को संख्यामा पर्यटक आउने गरेको बताइएको छ । होमस्टे सञ्चालन कार्यले आउने पर्यटकलाई सहज हुने विश्वास समेत गरिएको छ ।

होमस्टेका लागि घर सजाउने, आकर्षक फूलबारी र बगैँचा निर्माण गर्नेदेखि अतिथि सत्कार र स्थानीय उत्पादनको प्रयोगमा अलिकति पनि कन्जुस्याइँ नगरेको समितिले जनाएको छ । 

कञ्चनजंघा भू–परिधि संरक्षण तथा विकास पहल नेपाल नामक संस्था, नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयसँगको सहकार्यमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको व्यवहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र रिकाष्टले यस्ता होमस्टे सञ्चालनलाई प्रवद्र्धन गरेको रिकाष्टआवद्ध प्राध्यापक यादव उप्रेतीले बताउनु भयो । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया