डीपीएल: रुपन्देहीलाई एक रनले हराउँदै महेन्द्रनगर क्वालिफायर्समा

 फागुन ९, २०७५ बिहिबार १६:४०:९ | उज्यालो सहकर्मी
unn.prixa.net

कैलाली - महेन्द्रनगर युनाइटेड धनगढी प्रिमियर लिगको क्वालिफायर्समा प्रवेश गरेको छ ।

बिहीबार भएको दोस्रो एलिमिनेटरमा रुपन्देहीलाई एक रनले हराउँदै महेन्द्रनगर क्वालिफायर्समा प्रवेश गरेको हाे ।

फाप्ला मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको महेन्द्रनगरले २० ओभरमा नौ विकेट गुमाउँदै एक सय १५ बनायो । उसले खाता खोल्न नपाउँदै पहिलो विकेट गुमाएकाे थियाे ।

उसका दिलीप नाथले खाता खोल्न पाएनन् । त्यसपछि २४ रनमा दोस्रो विकेट गुमाएको महेन्द्रनगरले ४० रन बनाउदा तेस्रो विकेट खेर फाल्यो । उसका मोहम्मद नाभिद १८ रनमा आउट भए भने सुब्रमनियम आनन्द २० रनमा पेभेलियन फर्किए ।

एकपछि अर्को विकेट गुमाएको महेन्द्रनगरको विकेट झर्ने क्रम यतिमा रोकिएन । उसले ६१ रन बनाउँदा ६ विकेट खेर फाल्यो । आरिफ शेख ११, रोहित पौडेल दुई रनमा आउट भए भने सिद्धान्त लोहनीले खाता खोल्न सकेनन् ।

त्यसपछि सातौं विकेटका लागि कप्तान शरद भेषावकर र अमरसिंह रौटेलाले ३९ रनको साझेदारी गर्दै टिमलाई सम्हाले । तर रौटेला १९ रनमा आउट हुँदा महेन्द्रनगरको स्कोरबोर्डमा एक सय रन पुगेको थियो ।

अन्तिममा अविनाश बोहराले ११ रन जोडे भने कप्तान शरद भेषावकर २९ रनमा अविजित रहे । बलिङमा ललित भण्डारीले चार पुनीत मेहराले तीन र बसन्त रेग्मी दुई विकेट लिए ।

जवाफमा रुपन्देहीले २० ओभरमा एक सय १४ रनमा रोकियो । मध्यम सुरुवात गरेको रुपन्देहीले २६ रनमा पहिलो विकेट गुमायो भने ५२ रनमा दोस्रो विकेट खेर फाल्यो ।

उसका ओपनर सन्दिप सुनार १४ रनमा आउट भए भने बाबर हायात २८ रनमा पेभेलियन फर्किए । त्यसको लगत्तै सुमित महर्जन पनि बाहिरिएपछि रुपन्देहीले ५६ रनमा तेस्रो विकेट खेर फाल्यो ।

रुपन्देहीले अरु १० रन स्कोरबोर्डमा जोड्दा थप दुई विकेट गुमायो । उसका पुनित मेहरा ६ रनमा आउट भए भने भिम सार्कीले खाता खोल्न सकेनन् । तर त्यसपछि विनोद भण्डारी र प्रदिप ऐरीले छैटौ विकेटका लागि ३७ रनको साझेदारी गर्दै टिमलाई जितको नजित पुर्याएका थिए ।

विनोदले २३ रन बनाए भने प्रदिपले अविजित २८ रन बनाए । तर अन्तिम बलमा जितका लागि तीन रन आवश्यक रहेकोमा रुपन्देहीले बटुल्न सकेन । बलिङमा अभिनाश बोहोराले दुई विकेट लिए ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया