रामपुर र चापाकोटलाई जोड्ने आँधीघाट-बर्दले पक्की पुलकाे शिलान्यास

 फागुन १०, २०७५ शुक्रबार ७:५:१३ | रासस
unn.prixa.net

पाल्पा - रामपुर र चापाकोटलाई जोड्ने कालीगण्डकीमा आँधीघाट-बर्दले पक्की पुल शिलान्यास भएको छ । पाल्पाको रामपुर नगरपालिका–१० र स्याङ्जाको चापाकोट नगरपालिका–१० जोड्ने त्यस पुलको मुख्य सचिव लोकदर्शन रेग्मीले बिहीबार शिलान्यास गर्नुभयो । 

मुख्य सचिव रेग्मीले पुलमा गाडी वारपार गर्नका लागि मात्र नभई रामपुर र चापाकोट क्षेत्रको समृद्धिका लागि समेत महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो । उहाँले पुल निर्माण तोकेको मितिभित्रै सम्पन्न गर्न अनुरोध गर्नुभयो । मुख्य सचिव रेग्मीले कालीगण्डकीमा निर्माण कार्य रोकिएको निर्दिमघाट र दामाचौर प्याक्लुकघाट पक्की पुलको निर्माण कार्य अघि बढाएर तीन वटै पुलको उद्घाटन एकैसाथ गर्ने बताउनुभयो । कार्यक्रममा सडक विभागका उप-महानिर्देशक दीपक भट्टराईले निर्माण कम्पनीले काम छिटो सक्ने मात्र नभई गुणस्तरमा पनि उत्तिकै ध्यान दिएर काम गर्न सुझाव दिनुभयो । यस्तै वालिङ नगरपालिकाका नगर प्रमुख दिलीपप्रताप खाणले पुलले कालीगण्डकी बेशीको आर्थिक समृद्धिलाई उकास्ने बताउनुभयो । 

सपना महादेव खिम्ती दिवा जेभीले २०७४ साल मङ्सिर २२ गते ठेक्का सम्झौता गरी त्याे पुलको निर्माण कार्यको जिम्मा लिएको थियो । भ्याटसहित २८ करोड ४० लाख रुपैयाको लागतमा २०७७ साल मङ्सिरसम्म काम सक्ने गरी काम थालिएको नेपाल निर्माण व्यवसाय महासङ्घका अध्यक्ष रवि सिंले जानकारी दिनुभयो ।

पुलले कालीगण्डकी वारिपारिका रामपुर नगरपालिका, रम्भा गाउँपालिका, चापाकोट नगरपालिका, गल्याङ नगरपालिका र वालिङ नगरपालिकालाई जोड्नेछ । पुल निर्माण हुने भएपछि यहाँका स्थानीयवासी खुशी भएका छन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया