लोकतन्त्रकलीले छावा जन्माई

 फागुन १०, २०७५ शुक्रबार ८:२:४६ | रासस
unn.prixa.net

तस्बिर- पुरुषोत्तम पाण्डेकाे फेसबुकबाट

चितवन - चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्रमा रहेको लोकतन्त्रकलीले बिहीबार छावा जन्माएकी छ ।

बिहान ४ः१५ बजे १२ वर्षकी कलीले छावा जन्माएको निकुञ्जका पशु स्वास्थ्य प्राविधिक पुरुषोत्तम पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष निकुञ्जमा लोकतन्त्रकलीसहित पाँच माउ हात्तीले छावा जन्माएका छन् । 

गएकाे वर्ष निकुञ्जका हात्तीले छावा जन्माएका थिएनन् । हात्तीको प्रजननलाई ठूलो उपलब्धिको रूपमा लिइन्छ । यससँगै निकुञ्जमा चार भाले र एक पोथी छावा भएका छन् । यसअघि असोज २३ गते पूजाकलीबाट पोथी छावा, कात्तिक १६ गते गणेशकलीबाट भाले छावा, मङ्सिर ३ गते तमरकलीबाट भाले छावा र पुस १४ गते कणालीकलीबाट भाले छावा जन्मिएका थिए । अझै तीन गर्भिणी हात्तीले अर्को वर्ष बच्चा जन्माउने पाण्डेले जानकारी दिनुभयो । 

अहिले निकुञ्जमा ५७ हात्ती छन् । गर्भिणी भएपछि २२ देखि २४ महिनामा हात्तीले बच्चा जन्माउँछ । कोशीटप्पु राष्ट्रिय निकुञ्जबाट ल्याइएका पाँच हात्ती पनि चितवन राष्ट्रिय निकुञ्जमा छन् । निकुञ्जको हात्ती प्रजनन एवं तालिम केन्द्र, सौराहा र कसराको हात्तीसार एवं पोष्टमा हात्ती राखिँदै आइएको छ ।

२०४२ सालमा भारत सरकारले दिएको १६ हात्ती ल्याएर सुरु गरिएको प्रजनन केन्द्रमा हालसम्म २९ हात्तीका बच्चा जन्मिसकेका छन् ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया