कीर्तिमानी प्रदर्शनसँगै अफगानिस्तानले आयरल्याण्डविरुद्धकाे सिरिज जित्याे

 फागुन १२, २०७५ आइतबार ९:४:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

अन्तर्राष्ट्रिय ट्वान्टी-२० क्रिकेटमा धेरै कीर्तिमान बनेको खेलमा अफगानिस्तानले आयरल्याण्डलाई ८४ रनले पराजित गरेको छ । जितसँगै तीन खेलकाे सिरिज अफगानिस्तानले आफ्नो पक्षमा पारेको छ ।

शनिबार देहरादुनस्थित राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ओभरमा ३ विकेट गुमाएर २ सय ७८ रन बनायो । यो ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक स्कोर हो ।

अफगानिस्तानका लागि हज्रतुल्लाह जाजाई र उस्मान घानीले पहिलो विकेटका लागि २३६ रनको साझेदारी गरे । यो अर्को कीर्तिमान हो भने जाजाईले ६२ बलमा ११ चौका र १६ छक्काको सहयोगमा अविजित १६२ रनको सानदार पारी खेले ।

यो रन अष्ट्रेलियाका अरोन फिन्चको नाममा रहेको सर्बाधिक रनको कीर्तिमानभन्दा १० रन कम हो । गएको वर्षको जुलाइमा जिम्बाबेबिरुद्ध फिन्च र डिआर्कीले बनाएको पहिलो विकेटको २२३ रनको कीर्तिमान भने तोडिएको हो ।

अफगानिस्तानका लागि घानीले ७३ रन बनाएका थिए । उनले ४८ बलमा ७ चौका र ३ छक्का प्रहार गरे ।

२७९ रनको कीर्तिमानी लक्ष्य पछ्याएको आयरल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १९४ रनमात्र बनाउन सक्यो । कप्तान पाउल स्टर्लिङ र केभिन ओब्रायनले पहिलो विकेटका लागि ११.५ ओभरमा १२६ रनको साझेदारी गरेर टिमको आशा जगाएका थिए ।

तर, १२औं ओभरपछि बलिङमा आएका रशिद खानले आफ्नो चार ओभरको स्पेलमा २५ रन खर्चेर ४ विकेट लिएपछि आयरल्याण्ड सुस्तायो र ८४ रनको हार बेहोर्यो ।

यो जितसँगै अफगानिस्तानले तीन खेलको सिरिज २-० ले आफ्नो पक्षमा पारेको छ । पहिलो खेलमा अफगानिस्तान ४ रनले विजयी भएको थियो ,।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया