रेल सञ्चालनको नाममा देशले ऋणको भार बोक्नु नपरोस : सह–महामन्त्री महत

 असार ९, २०७५ शनिबार १७:५३:१८ | उज्यालो सहकर्मी

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री डाक्टर प्रकाशशरण महतले रेल सेवा सञ्चालनका नाममा देशलाई ऋण नबोकाउन सरकारलाई सुझाव दिनुभएको छ ।

शनिबार रिपोर्टर्स क्लबको कार्यक्रममा बोल्दै उहाँले दुवै छिमेकी राष्ट्रले नेपालमा रेल सेवा सञ्चालन होस् भन्ने कामना गर्नु स्वभाविक भए पनि रेल सेवाको नाममा मुलुकलाई थप ऋणको बोझ बोकाउन नहुने धारणा राख्नुभएको हो । उहाँले चीन र भारत दुवै छिमेकी राष्ट्रसँग नेपाल सरकारले अनुदानमा रेल निर्माण गर्न अनुरोध गर्नुपर्ने सुझाव दिनुभयो ।

‘हाम्रा आफ्नै आन्तरिक आवश्यताहरु धेरै छन्, ती आवश्यकताहरु पूर्ति गर्नको लागि नै हामीलाई अहिले धौ–धौ छ’, महतले भन्नुभयो, ‘यस्तो अवस्थामा आफ्नै लगानीमा रेल निर्माण गर्ने कुरा सुहाउँदैन्, बनाए अनुदानमा बनाउने हो ।’

उहाँले राष्ट्रियताको चर्को नारा लगाउने वर्तमान सरकारले नेपालको राष्ट्रियतालाई खाक्रो बनाउदै लगेको आरोप लगाउनुभयो । ‘सत्तामा नहुञ्जेलसम्म मेरै काँधमा राष्ट्रियता छ जस्तो गरेर खोक्रो राष्ट्रियताको कुरा गर्ने अनि सत्तामा पुगेपछि सबै कुरा राम्रै छ, ठीकै छ भन्ने ?’, नेता महतले भन्नुभयो, ‘जुन ठाउँमा भन्नुपर्ने हो त्यहाँ भन्नुपर्यो, बोर्डर, व्यापार, लगानी, पारवाहन वा यातायातसम्बन्धी के विषयमा बोल्नुपर्ने हो त्यो तर्कसंगत रुपमा राख्नुपर्यो ।’
 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया