आमाको हत्याको आशंकामा घाटबाटै छोरासहित मलामी प्रहरी नियन्त्रणमा

 असार ९, २०७५ शनिबार १८:५१:५ | किरण लोहनी

गोरखा – आमाको हत्या गरेको आशंकामा प्रहरीले छोरासहित मलामीलाई घाटबाटै नियन्त्रणमा लिएको छ ।

प्रहरीले गोरखाको भीमसेन थापा गाउँपालिका–१, का राजेश विश्वसहित १८ जना मलामीलाई नियन्त्रणमा लिएको हो । मसेलकी ७० वर्षीया आमा विभा विश्वको शनिबार बिहान करिब २ बजेतिर मृत्यु भएको थियो । दिउँसो दाहसंस्कारका लागि उनको शव दरौंदी नदी किनारको बिबेल घाटमा ल्याइएको थियो । तर विभाको मृत्यु अस्वाभाविक भएको र छोराको कुटपिटबाट मृत्यु भएको हुनसक्ने आशंका गर्दै प्रहरीमा खबर आएपछि शवसहित छोरा राजेश र मलामीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

राजेशले मदिरा खाएर आमालाई बेलाबेला कुटपिट गर्ने गरेको स्थानीयको भनाई छ । स्थानीयका अनुसार राजेशले गएको बिहीबार आमालाई कुटपिट गरी घाइते बनाएका थिए । शनिबार बिहान मृत्यु भएपछि गाउँलेहरु अन्तिम संस्कारका लागि घाटमा आएका बेला प्रहरीले सबैलाई नियन्त्रणमा लिएको हो ।

शवको विभिन्न ठाउँमा चोटपटक देखिएको डीएसपी भेषराज रिजालले बातउनुभयो । अस्वाभाविक मृत्युको घटनाबारे प्रहरीलाई खबर गर्नुको साटो शव जलाउने तयारी गरेकाले मलामीहरुलाई पनि नियन्त्रणमा लिनु परेको डीएसपी रिजालको भनाई छ । शवलाई पोष्टमार्टमका लागि गोरखा अस्पताल ल्याइएको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया