चुनावी माहाेल तताउन भारतले आक्रमणकाे झुटाे प्रचार गर्‍याे : पाकिस्तानी विदेशमन्त्री कुरैशी

 फागुन १४, २०७५ मंगलबार १६:४०:१७ | एजेन्सी
unn.prixa.net

पाकिस्तानी विदेश मन्त्री शाह महमूद कुरैशीले भारतले पाकिस्तानको सम्प्रभूताको उल्लंघन गरेको बताएका छन् । 

पाकिस्तानमा सुरक्षा परिषदको आपतकालीन बैठक बोलाइएको थियो । प्रधानमन्त्री इमरान खानको अध्यक्षतामा बसेको सुरक्षा परिषद बैठकपछि भारतले गरेको दाबीलाई खारेज गर्दै पाकिस्तानले भनेको छ, ‘हामीले भारतले बालाकोट नजिकै कथित आतंकी अड्डा नष्ट गरेको र ठूलो क्षति पुर्‍याएको दाबीलाई झुटो भएको स्पष्ट पार्न चाहन्छौँ ।’

पाकिस्तानी विदेश मन्त्री कुरैशी भन्छन्, ‘एक पटक फेरि भारत सरकारले आफ्नो उद्धेश्य पूरा गर्न झुटो तथा मनगढन्त दाबी गरेको छ । आफ्नो घरेलु आवश्यकता पूरा गर्नका लागि भारतले यसो गर्दैैछ ।  चुनावी माहोलका लागि भारतले क्षेत्रीय सुरक्षा र स्थिरतालाई खतरामा धकेलिदिएको छ ।’

विदेश मन्त्री कुरैशीले प्रधानमन्त्री इमरान खानले सेनाका सबै अंगलाई जुनसुकै परिस्थितिका लागि तयार रहन निर्देशन दिएको पनि बताए । विदेश मन्त्री कुरैशीले भने, ‘यो आक्रमण पाकिस्तानविरुद्ध हो र यसको जवाफ पाकिस्तानले दिनेछ ।’

भारतले मंगलबार बिहान पाकिस्तानी भूमि बालाकोटमा रहेको जैश–ए–मोहम्मदको अड्डामा सैन्य कारबाही गरेर ठूलो क्षति पुर्‍याएको दाबी गरेको छ । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया