पाकिस्तानी भूमिमा आक्रमण गरेको १० घण्टामै भारतीय प्रधानमन्त्री मोदीले मागे भोट !

 फागुन १४, २०७५ मंगलबार २२:२२:५६ | एजेन्सी
unn.prixa.net

पाकिस्तानको बालाकोटमा भारतीय वायु सेनाले आक्रमण गरेको केही घण्टामै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भोट मागेका छन् ।

राजस्थानको चुरुमा भएको एउटा आमसभामा मोदीले खुलेर यस पटकको चुनावमा आफूलाई जिताउन आग्रह गरेका छन् ।

पाकिस्तानी भूमिमा भारतीय वायु सेनाले बम खसालेको ठिक १० घण्टापछि मोदीले भने, तपाईँहरुको भोटबाटै दिल्लीमा एउटा शक्तिशाली सरकार बन्यो । त्यसको दम देखिँदैछ । तपाईँहरुको भोटले बीजेपीलाई अभ बलियो बनाउनेछ ।’

यसरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई महिनापछि हुने लोकसभा चुनावमा बालाकोटमा गरेको आक्रमणलाई भजाउने स्पष्ट संकेत दिएका छन् । साथै त्यसैलाई आधार मानेर उनले भोट पनि माग्ने छन् । 

भारत पाकिस्तानबीच युद्ध भए नेपाललाई कस्तो प्रभाव पर्छ ?

भारतीय प्रधानमन्त्री मोदीले कांग्रेस नेतृत्वको तत्कालीन यूपीए सरकारसँग आफ्नो सरकारको तुलना गर्दै एउटा बलियो सरकार र कमजोर सरकारबीचको अन्तर देखिएको पनि बताएका छन् ।

‘बीजेपीलाई अझ बलियो बनाउनुहोस्’

मोदीले आफ्नो पूरा भाषणमा सर्जिकल स्ट्राइककै जोडतोडले चर्चा गरे । उनले भने, ‘म देशवासीहरुलाई विश्वास दिलाउन चाहन्छु कि देश सुरक्षित हातमा छ । आजको दिन मैले २०१४ मा गरेकै वाचालाई दोहोर्याउने दिन हो ।  आज चुरुका नागरिकको अगाडि भन्न चाहन्छु, ‘सपथ यो माटोको, मैले देशलाई मेटिन दिनेछैन । देशलाई रोकिन दिनेछैन । मैले देशलाई झुक्न दिनेछैन ।’

योभन्दा पहिले सन् २०१६ मा भारतीय सेनाले गरेको सर्जिकल स्ट्राइकलाई पनि मोदीले आमसभादेखि संसदसम्म नै प्रचारबाजी गरेका थिए । यतिमात्रै होइन, सर्जिकल स्ट्राइकमै आधारित चलचित्र ‘उरी’ को प्रमोसन निर्माताले भन्दा पनि बीजेपीले धैरै गरेको थियो ।

प्रधानमन्त्री मोदी आफै पनि केही सार्वजनिक कार्यक्रममा फिल्मको डायलग ‘हाउ इज द जोश’ उल्लेख गरेका थिए । 

पाकिस्तानमाथिको आक्रमणलाई भारतीय जनता पार्टी र नरेन्द्र मोदीले चुनावी एजेण्डा बनाउने कुरा पाकिस्तानी विदेशमन्त्री शाह मसूद कुरैशीले पनि बताएका थिए । 

पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशीले मंगलबार पत्रकार सम्मेलन गर्दै आफ्नो घरेलु आवश्यकता पूरा गर्न र नजिकिएको चुनावी माहोल आफ्नो पक्षमा पार्नका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले क्षेत्रीय सुरक्षालाई खतरामा धकेल्ने काम गरेको दाबी गरेका थिए ।  

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया