चुहिन थाल्यो आईसीपीको मुख्य भवन

 असार १०, २०७५ आइतबार ७:५:७ | रासस
unn.prixa.net

पर्सा– वीरगन्जको अलौँमा निर्माण भएको एकीकृत चेकजाँच चौकी (आईसीपी)को मुख्य भवनमा चुहिन थालेपछि भन्सार कर्मचारीलाई काम गर्न समस्या भएको छ । 

हस्तान्तरण भएको तीन महिना नपुग्दै भवनको छत चर्किएर वर्षाको पानी चुहिन थालेपछि काम गर्न कर्मचारीलाई समस्या भएको हो । भवन निर्माणको जिम्मा लिएको भारतीय कम्पनी केएस स्फटनेट सोलुशन प्रालिले गुणस्तरीय निर्माण नगरेको कारण आइसिपीको मुख्य भवन र गोदाम सामान्य वर्षामै चुहिन थालेकोे भन्सारका कर्मचारीले गुनासो गरेका छन् । 

चार÷पाँच दिन अगाडि भएको सामान्य वर्षा हुँदा  मुख्य भवन र गोदाममा पानी चुहिएको हो । 

मुख्य भवन र गोदाममा पानी चुहिन थालेपछि काम गर्न र मालसामान भण्डारण गर्न समस्या भएको आइसिपी व्यवस्थापनको जिम्मा पाएको इटरमोडेल आइसिपी कार्यालयका प्रमुख हेमेन्द्र मोहन शाहीले जानकारी दिनुभयो । उहाँले अहिले देखिएको समस्यालाई समाधान गर्न केएस स्फटनेट सोलुशन प्रालिका कर्मचारीलाई भनिए पनि समस्या यथावत् नै रहेको बताउनुभयो । 

यसै विषयमा सोलुशन प्रालिका परियोजना प्रबन्धक सुभाषचन्द्र दाससँग बुझ्दा उहाँले भवनको छत र गोदाममा देखिएका समस्यालाई चाँडै समाधान गरिने बताउनुभयो । निर्माण कार्य गुणस्तरीय भएपनि परियोजनाको डिजाइनमा कमजोरी रहेका कारण पानी चुहिने समस्या देखिएको उहाँले दाबी गर्नुभयो । 

आईसीपीको मुख्य भवनलगायत गोदाम निर्माणमा भएको लापर्बाहीबारे आइसिपी निर्माण कार्यको रेखदेखको जिम्मा पाएका शहरी विकास तथा भवन डिभिजन कार्यालय पर्साका प्रमुख सुरेश वाग्लेसँग बुझ्दा उहाँले निर्माण कार्य तथा अनुगमनको सम्पूर्ण जिम्मा भारतीय पक्षलाई नै भएको र नेपाली कार्यालयलाई भूिमकाविहीन बनाइएका कारण समस्या देखापरेको तर्क गर्नुभयो । आइसिपीको भवन निर्माण गर्दा गुणस्तरीयतालाई गम्भीतापूर्वक नलिएका कारण तीन महिना नबित्दै चुहिने समस्या देखा परेको उहाँको भनाइ रहेको छ । 
 
निर्माण कार्यको अनुगमन तथा गुणस्तरको परीक्षणसमेत भारतीय पक्षले नै गरेकाले अहिले देखिएको समस्याको मुख्य दोषी भारतीय पक्ष नै भएको कार्यालय प्रमुख वाग्लेको ठम्याइ छ । 

एक अर्ब ३९ करोड रुपैयाँको लगानी भएको आईसीपी निर्धारित समयभन्दा पाँच वर्ष ढिलो निर्माण सम्पन्न भएको थियो । गएको चैत ११ गते नेपाल सरकारलाई भारतीय पक्षले विधिवत्रुपमा आईसीपीलाई हस्तान्तरण गरेको थियो ।
 
आईसीपी हस्तान्तरण गर्दा निर्माण गरिएको भवन, गोदामलगायतका पूर्वाधार मापदण्डअनुसार भएनभएको बारे कुनै अनुगमन नगरिएको आइसिपीकै कर्मचारीको भनाइ रहेको छ ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया