रवीन्द्र अधिकारी विकासवादी सोचमा सबैभन्दा अगाडि हुनुहुन्थ्याे: कांग्रेस नेता थापा

 फागुन १७, २०७५ शुक्रबार १५:३६:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौँ – ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रविन्द्र अधिकारीको आज अन्तेष्टि गरिँदैछ । उहाँको पार्थिव शरीर टुँडिखेलपछि अन्तिम श्रद्धाञ्जलीका लागि पोखरामा राखिएको छ ।

टुँडिखेलमा श्रद्धाञ्जली दिन पुगेका कांग्रेस नेता गगन थापाले अधिकारी विकासवादी सोच भएको नेतामध्ये सबैभन्दा अगाडि रहेको टिप्पणी गर्नु भएको छ ।
विद्यार्थी नेता हुँदा सार्वजनिक गाडीमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिलाउन आन्दोलन गर्नु भएका मन्त्री अधिकारी संसदमा आएपछि विकासका लागि चासो, गुनासो र सक्रियता देखाउने नेता भएको थापाको टिप्पणी छ ।

‘उहाँ संसदको विकास समीतिको सभापति भएका बेला हामीलाई पनि अचम्ममा पार्नुहुन्थ्यो । हामीले खाली सोच्थ्याैँ, चिन्ता देखाउँथ्यौ तर उहाँ एक कदम अगाडि बढेर यो कसरी गर्न सकिन्छ ? भनेर प्रयास थाल्नुहुन्थ्यो,’ कांग्रेस युवा नेता थापाले भन्नुभयो, ‘विकासका लागि राजनीति गर्नुपर्छ भन्ने विचारमा उहाँ सधै अगाडि हुनुहुन्थ्यो ।’

अधिकारी संसदको विकास समिति सभापति भएका बेला थापा कृषि तथा जलस्रोत समितिको सभापति हुनुहुन्थ्यो । 

विकास समिति सभापति रहेका बेला अधिकारीले विकास निर्माणका काममा चासो राखेर सम्बन्धित आयोजनाका प्रमुख र मन्त्रीलाई बोलाएर आवश्यक निर्देशन दिने गर्नु भएको थियो ।

नेता थापाका अनुसार पहिलो संविधानसभामा विभिन्न विवादित विषयमा नेताहरुबीच बोलचालसमेत बन्द भएका बेला अधिकारीकै नेतृत्वमा युवा पुस्ताका नेताले शीर्ष नेताहरुबीच समन्वय गरेर विवादित विषय टुंग्याउन भूमिकासमेत निर्वाह गर्नुभएको थियो ।

वाइडबडी जहाज खरिदमा विभिन्न प्रश्न उठाउँदा पनि मन्त्री अधिकारीले हाँसी हाँसी जवाफ दिने गरेको र विवादभन्दा समाधानतर्फ केन्द्रित हुने स्वभाव आफूलाई मन परेको थापाले टिप्पणी गर्नुभयो ।

थापाले मन्त्री अधिकारीको हेलिकोप्टर दुर्घटनामा विषयमा गठित जाँचबुझ आयोगले सत्यतथ्य पत्ता लगाउनुपर्नेमा पनि जोड दिनुभयो । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया