महाभारतको फेदीमा नेपालको सबैभन्दा ठूलो वैदेशिक लगानीको सिमेन्ट उद्योगको शिलान्यास

 फागुन १७, २०७५ शुक्रबार १८:२०:८ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ – दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर–२, ताल्तीमा नेपालको सबैभन्दा ठूलो वैदेशिक लगानीको ह्वासिन सिमेन्ट उद्योगको शुक्रबार संघीय संसदका सभामुख कृष्णबहादुर महराले एक कार्यक्रमका बीच शिलान्यास गर्नुभयो ।  

चेपाङ समुदायको बाहुल्य क्षेत्र रहेको महाभारतको फेदीमा वातावरणमैत्री टनेल प्रविधिमा आधारित उद्योगको शिलान्यास गर्दै सभामुख महराले उद्योगले नेपालको विकासका लागि सहयोगी हुने बताउनुभयो । 

स्थानीय नागरिकले धेरै फाइदा पाउनेगरी रोजगारी सिजना गरेर उद्योग स्थापना गरिएकोमा स्थानीय तहको सरकारलाई धन्यवाद दिँदै उद्योग सञ्चालन र यसले प्रतिफल दिनेगरी सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो । 

चीनका राष्ट्रपतिले अघि सार्नुभएको वान बेल्ट वान रोडको महत्वकांक्षी परियोजनाबाट नेपालले फाइदा लिनका लागि यस किसिमको उद्योगहरु सञ्चालनको आवश्यकता भएको महराले औँल्याउनुभयो । महरा अर्थमन्त्री भएको बेला नेपालका चिनिया ँलगानीका लागि पहल भएकोस्मरण गर्नुभयो । 

पर्वतीय स्रोतहरुको सदुपयोग हुने र देशले ठूलो फाइदा लिन सक्ने भएकोले यस किसिमको लगानी भित्र्याएर ‘सुखी नेपाली समृद्ध नेपाल’ बनाउन लाग्नु पर्नेमा जोड दिनुभयो । 

ह्वासिन सिमेन्ट उद्योगलाई नमुना उद्योगको रुपमा वातावरणमैत्री बनाइ नेपाल सरकारले तोकेको मापदण्डअनुसार सञ्चालन गर्न लगानीकर्ताहरुलाई सभामुख महराले आग्रह गर्नुभयो । 

उद्योग शिलान्यास कार्यक्रममा संघीय सम्सद खेम लोहनी, भूमि त्रिपाठी, ३ नम्बर प्रदेशका आन्तरिक ममला तथा कानुन मन्त्री शालिकराम जम्मरकट्टेल, लगानीबोर्डका अध्यक्ष महाप्रसाद अधिकारीलगायतले शुभकामना दिँदै सिमेन्ट उद्योग सञ्चालनका लागि सबै तवरबाट सञ्चालनका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

दैनिक ६० हजार बोरा सिमेन्ट उत्पादन क्षमता भएको उद्योगले १४ अर्ब ८२ करोड ६० लाखको कूल पूँजीमा ताल्तीमा उद्योग सञ्चालन तयारी गरिएको छ ।  सिमेन्ट उद्योगमा चिनियाँ कम्पनीको ८० प्रतिशत र नेपालका उद्योगी सुरज वैद्यको कम्पनीमा २० प्रतिशत शेयर रहने बताइएको छ ।

सिमेन्ट उद्योग सञ्चालनमा आउँदासम्म प्रत्यक्ष रुपमा ३ सय जना र अप्रत्यक्ष रुपमा एक हजार जनाले रोजगारी पाउने छन् । उद्योगका लागि मलेखुबाट ताल्तीसम्म छुट्टै सडक १० किलोमिटर निर्माणका लागि तयारी समेत गरेको छ ।

ह्वासिन सिमेन्ट उद्योगले उद्योगकै कच्चा पदार्थबाट विद्युत उत्पादन समेत गर्ने र वातावरणमैत्री रहेको कम्पनीले जनाएको छ । 

 

अन्तिम अपडेट: चैत १५, २०८०

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया