जुम्लाले पायो पहिलो महिला सीडीओ

 फागुन १७, २०७५ शुक्रबार १८:३४:१८ | नेत्र शाही
unn.prixa.net

जुम्ला – जुम्लाले पहिलो पटक महिला प्रमुख जिल्ला अधिकारी पाएको छ । 

पूर्व प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल गृह मन्त्रालयमा सरुवा भएपछि सिन्धुपाल्चोका पूर्व सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे जुम्लाको पहिलो महिला प्रमुख जिल्ला अधिकारीको रुपमा आउनु भएको छ । गृह मन्त्रालयले गरेको भर्खरै गरेको प्रमुख जिल्ला अधिकारीहरुको सरुवाअन्तर्गत बञ्जाडेलाई जुम्ला खटाइएको होे ।

शुक्रबार जुम्ला आइपुग्नुभएकी पहिलो महिला प्रमुख जिल्ला अधिकारी बञ्जाडेलाई जुम्लामा भव्य स्वागत गरिएको छ । स्वागतसँगै पत्रकार भेटघाट गरेर परिचय कार्यक्रमसमेत प्रजिअ बञ्जाडेले शुक्रबार नै गर्नुभएको छ । पत्रकारहरुसँगको भेटमा प्रजिअ बञ्जाडेले जिल्लाको शान्ति, सुव्यवस्था र विकासका लागि पत्रकाहरुको भूमिका ठूलो भएको हुँदा आवश्यक सहयोगको अपेक्षा गरिएको बताउनुभयो । 

उहाँले आफू कर्णाली आएर सेवा गर्ने धोको पूरा भएको भन्दै अब सहकार्य र समन्वय गरेर काम गर्नुपर्नेमा सवैको साथ आवश्यक भएको बताउनुभयो । उहाँले महिला भनेर गरिने समाजको दृष्टि बदल्ने गरी कामसमेत गरेर फर्किने आशा गरेको बताउनुभयो । ‘सीडीओको रुपमा म आएको छु तर मलाई हेर्ने दृष्टिकोण महिला हुने भएकाले काम बढी गर्नुपर्नेछ’, उहाँले भन्नुभयो ।

अर्घाखाँची जिल्ला स्थायी घर भएकी प्रजिअ बञ्जाडेले जिल्लाको विकास र समसामयिक अवस्थालाई समेत पत्रकारहरुबाट वुझ्नु भएको छ । जिल्लाका विकास र समृद्धिमा यहाँका नागरिकहरुको अनुभूति गर्नेगरी योजना बनाउने र त्यसैअनुसार अगाडि बढनुपर्ने, मदिरा नियन्त्रण अभियान केवल रक्सी खन्याउने नभई उत्पादनमा कस्तो व्यक्ति वर्ग र कसरी भइरहेको छ, गहिरो अध्ययन गरी अघि बढ्नुपर्ने उहाँले बताउनुभयो ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • शरद अधिकारी

    March 1, 2019, 7:37 p.m.

    बधाई तथा सफल कार्यकालको शुभकामना । जुम्लाबासीलाई पनि बधाई क्षमतावान र सहृदयी प्र.जि.अ. पाएकोमा ।

  •  0 Reply

तपाईको प्रतिक्रिया