चीनबाट ४ हजार गाई ल्याइने: एउटै गाईकाे मूल्य ३ लाख

 फागुन १७, २०७५ शुक्रबार १९:५१:४६ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - गरिबी निवारणका लागि दुग्ध विकास परियोजना अन्तरगत तीन नम्बर प्रदेशमा चीनबाट ४ हजार गाई ल्याइने भएको छ ।

प्रदेश नम्बर ३ सरकार र चीनको चाइना एकेडेमी अफ एग्रिकल्चर मेकानाइजेसन साइन्सेसबीच शुक्रबार यस प्रदेशमा गाई तथा दुग्धजन्य क्षेत्रमा सहयोग गर्ने सम्झाैता भएको हो । यस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका निमित्त सचिव निर्मल गदाल र साइन्सेसका प्रमुख इन्जिनियर उडिसीङबीच सम्झाैता पत्रमा हस्ताक्षर भएको हो ।

यो सम्झाैतासँगै दिनमा ३० लिटर सम्म दुध दिने नस्ल सुधार भएको गाईलाई यस प्रदेशमा भित्र्याएर गरिबी निवारण गर्ने तयारी भएको तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बताउनुभयो ।

चटीनले गाईमा आधारित दुग्ध डेरी, यसको बजारीकरण, पशु स्वास्थ्य, दाना उद्योग लगायतका क्षेत्रमा सहयोग गर्ने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले बताउनुभयो । एक वर्षभित्रमा यस प्रदेशका १३ वटै जिल्लामा अहिलेका गाईभन्दा धेरै दुध दिने गाई भित्रयाउने प्रदेश सरकारको तयारी रहेको मन्त्री ढुंगेलले बताउनुभयो ।

चीनबाट आउने एउटा गाईको मूल्य ३ लाख रुपैयाँसम्म पर्ने बताइएको छ । मुख्यमन्त्री डोरमणि पौडेलको रोहवरमा दुवै पक्षबीच हस्ताक्षर भएको थियो । चीनसँग गरेका कुरा कार्यान्वयन गर्न आफूहरु तयार रहेको मन्त्री लामाले बताउनुभयो ।

कृषि क्षेत्रसँगै अन्य क्षेत्रमा पनि सहयोग पुगोस् भन्ने उदेश्यले काम सुरु गरिएको हो । यो पहिलो सम्झौतासँगै कृषि र पशुको क्षेत्रमा काम गर्न प्रदेश सरकारलाई बाटाे खुलेको छ ।  

अन्तिम अपडेट: चैत १५, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया