रवीन्द्रका छोरा, अर्जुनकी आमा !

 फागुन १८, २०७५ शनिबार १४:३४:५५ | मिलन तिमिल्सिना
unn.prixa.net

डाँडामाथिको घामजस्तै वृद्ध मीठु घिमिरे । भर्खर उदाएको जुनजस्तै बालक स्वराज अधिकारी । उमेर, अनुभव, अवस्था र परिवेश फरक–फरक भए पनि पीडाको पहाड उस्तै । पीडाको पहाडमा असरल्ल छरिएका पीर, व्यथा, वेदना र विवशता भने आ–आफ्नै ।

मीठुको छोरा अर्जुन स्वराजको बुवा रवीन्द्रका अंगरक्षक थिए । जहाँ पुग्दा पनि उनको रक्षा गर्नुपर्ने कर्तव्य थियो । तर परिस्थिति यस्तो आइलाग्यो कि रवीन्द्रको मात्रै होइन, आफ्नै अंगको पनि रक्षा गर्न सकिएन । आफूले सोच्दै नसोचेको, अरुले समेत कल्पना गर्नै नसकेको आकस्मिक दुर्घटनामा दुवै एकैपटक खरानी भए । 

ताप्लेजुङको पहाडमा हेलिकप्टर ठोकिएलगत्तै रामेछापमा रहेकी वृद्ध मीठु र पोखरामा रहेका बालक स्वराजको मुटुमा एकैपटक ढ्याङ्गो ठोक्कियो । उता दनदनी आगो बल्दा यता  पीडाले भतभती पोलिरह्यो । मीठुको बुढेसकालमा टेक्ने लौरो र समाउने हाँगो भाँचियो । बालक स्वराजको हात समाउने र बाटो देखाउने अगुवा ढले ।

सेनामा जागिर खाने मीठुका छोरा अर्जुन काठमाण्डौमा बस्थे । गाउँमा बस्ने आमालाई बेलाबेला फोन गरेर सञ्चोबिसञ्चो सोधिरहन्थे । आमा धेरै दुःख नगर्नू, म छँदैछु नि भनेर ढाडस दिन्थे । छोराको मुखबाट यति मात्रै सुन्दा पनि कता हो कता हुन्थ्यो । दिनदिनै छोरोको बोली र छोरो ठिक छ भन्ने खबर सुनिरहन पाए हुन्थ्यो भन्ने लाग्थ्यो । 

त्यो दिन पनि आमालाई छोरोको खबर पुग्यो । तर छोरोले हैन, अर्कैले सुनाए । तिम्रो छोरो दुर्घटनामा परेर घाइते भएको छ भन्ने । सुन्नेबित्तिकै मिठुको होशहवास उड्यो । वरपरको संसार अन्धकार भयो । तर घाइते मात्रै हो भन्ने सुनेकाले आँखा अघिल्तिरको अन्धकारमा आशाको धिपधिपे उज्यालो पनि देखियो । पछ्यौराको छेउले आँसु पुछिन् । अनि घाइते छोरो भेट्न रामेछापको विकट ठाउँ उमाकुण्डबाट आफन्तको साथमा काठमाण्डौतर्फ लागिन् ।

दिमागमा नानाथरीका कुरा खेलिरहे । साँच्चै छोरो घाइते मात्रै भएको होला त ? घाइते मात्रै भएको हो भने म बुढी मान्छेलाई यसरी हतारहतार डोहोर्याएर काठमाण्डौ लैजान नपर्ने । ‘हैन मेरो छोरोलाई केही भएको त हैन ?’ बेलाबेला झसँग हुँदै मीठुले सोध्थिन् । आफन्तले केही भएको छैन, नआत्तिनुहोस् भनेर सान्त्वना दिन खोज्थे । 

तर आफन्तको कुरामा मीठुलाई पूर्ण विश्वास लाग्दैन थियो । तै पनि ईश्वरसँग अगाध विश्वास थियो । बाटोमा आँखाले देखिएका मन्दिर, ढुंगादेखि मनले देखेका देवीदेवता सबैसँग पुकार गरिन्–भगवान मेरो छोरोलाई केही नभएको होस् । अस्पतालमा सुतिरहेको छोराले देख्नेबित्तिकै आमा भनेर बोलाओस् । बाबु, छिटो निको हुन्छ, नआत्तिनु भन्दै निधार छाम्न पाइयोस् । आफैले तेल घसीघसी, आफ्नै हातले भात खुवाइखुवाई, त्यतिका दुःखकष्ट सहेर हुर्काएको छोरोलाई फेरि उसैगरी तन्दुरुस्त बनाउन सकिहाल्छु नि ।.......

वृद्ध मीठुको अँध्यारो अनुहारमा बेलाबेला आशाको धिपधिपे उज्यालो देखिन्थ्यो । तर टुँडिखेल पुगेपछि अलिअलि बल्दै गरेको आशाको दियो पनि झ्याप्पै निभ्यो । छोरो त अस्पतालको ओछ्यानमा हैन, बाकसमा रैछ । त्यो पनि सग्लो छैन रे...। मीठुको सारा आशा, आड, भरोशा र विश्वास गल्र्यामगुर्लुम ढल्यो । टेक्ने हाँगो र समाउने लौरो भाँच्चियो । 

हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका अर्जुन घिमिरेकी आमा मीठु घिमिरे

बेलाबेला आमा भनेर फोन गर्ने छोराको बोली सधैँका लागि अस्तायो । टुँडिखेलमा बाकस अँगालो हालेर रोएकी मीठु आर्यघाटमा सम्हालिन सकिनन् । बागमती उर्लेर झ्याप्पै निलेजस्तो भयो । छोरो चित्तामा दन्दनी बल्दा आत्मामा ज्वारभाटाको ढुकढुकी बढ्यो । ६ महिनाअघि मात्र जीवनसाथी गुमे । जीवनसाथीको बरखी नसकिंदै जीवनको अर्को सहारा ढल्यो ।

आर्यघाटमा अर्जुनकी आमा मीठु इन्तु न चिन्तु हुँदा पोखरामा १० वर्षका स्वराज उस्तै हालतकी आफ्नी आमालाई सम्हाल्न खोज्दैथिए । कुनै दुःख, पीर, व्यथा थाहा नहुने चञ्चले उमेर । हाँस्ने, खेल्ने र रमाउने बेला । तर सधैं हाँसखेलमा रमाउने स्वराज दुई दिनदेखि शान्त थिए ।

स्कुलबाट फर्कँदा घरभरि मान्छे । सबैको अनुहार अँध्यारो । कोठाभित्र हजुरबा, हजुरआमा बलिन्द्र धारा आँसु बगाएर रुँदै गरेका । उनलाई देख्नेबित्तिकै कसैले गाला सुम्सुमाए, कसैले टाउको मुसारे । अरुबेला भन्दा भिन्न अवस्था । टाउको मुसार्दै गरेका आफन्तलाई के भयो भनेर सोधे । तर कसैले केही जवाफ दिएनन् । 

दिवंगत पर्यटन मन्त्री रवीन्द्र अधिकारीकाे ज्येष्ठ सुपुत्र विराजकाे काँध चढेर बाबुकाे पार्थिव शरीर हेर्दै कान्छा सुपुत्र स्वराज          तस्बिर : पत्रकार बिमला भण्डारीकाे फेसबुकबाटसबैको आँखामा आँसुका ढिक्का । केहीबेरपछि हजुरबा र हजुरआमालाई पनि काठमाण्डौ लगे । मन्त्री बुवा र पढाउने आमा पहिलेदेखि नै काठमाण्डौमा बस्ने । दाइ पढ्नको लागि बाहिर थिए । घरमा भएका हजुरबा र हजुरआमा पनि रुँदै काठमाण्डौ गए । घरमा आएका आफन्त र छिमेकीको अनुहार पनि आकाशको बादलजस्तै अँध्यारो छ । १० वर्षीय स्वराजले पनि वरपर उज्यालो देख्न छाडे । 

आकाशमा देखिएको कालो बादलजस्तै आँखा अघिल्तिरको संसार डम्म भयो । बार्दली र झ्यालमा बसेर टाढा हेरिरहे । कतै हजुरबा, हजुरआमा र आमाहरुले आफ्नो प्यारो बुवालाई साथमै लिएर आउँछन् कि भनेर ।

तर अहँ, आफूले मात्र होइन, अरुले पनि प्यारो ठान्ने बुवा ठमठमी हिँडेर हात हल्लाउँदै घरभित्र पसेनन् । अस्तिताका झण्डा फरफराउँदै गाडीमा आएका बुवा योपटक फूलैफूलको बाकसमा आए । बाकसमा रहेका बुवाले छोरा भनेर बोलाएनन् । सधैं हाँसिरहने अनुहार देख्न पाइएन । उल्टै साथमा रहेका परिवार, आफन्त र हजारौं शुभचिन्तकको आँखामा आँसुका धारा देखियो । 

रुँदारुँदा आँसु नै निखारिसकेकी आमा इन्तु न चिन्तु भैसकेकी थिइन् । हिजोसम्म डम्म आकाश आज खुले पनि वरपर डम्म बादल लागेजस्तै थियो । १० वर्षका स्वराजले जताततै अन्धकार देखे । आमाको अनुहारमा झन् अँध्यारोको गाढा धब्बा थियो । आमाको च्युँडो समाते । आँसु पुछिदिए । पानी पिलाइदिए । पछिल्तिर दाइ र अरु आफन्त थिए । आमाले छोराको अनुहार हेरिन् ।

बिहे हुनुभन्दा पहिलेदेखिकै सहयात्री रवीन्द्रको आकृति छोराको आँखामा देखिन् । एकअर्काको आँखामा सहारा र सान्त्वना खोजेका तीनै आमाछोराले संसारको सबैभन्दा प्यारो मान्छेलाई बिदा गरे । रवीन्द्रको अन्तिम यात्रामा उर्लिएको हजारौंको भिडभरि रवीन्द्र मात्रै देखिए ।

रामेछापकी वृद्ध मीठु र पोखराका बालक स्वराजले एकैपटक आफ्ना मान्छेलाई सधैँका लागि बिदा गरे । आफ्नो आशा र भरोसाको बत्ती निभेपछि जताततै अँध्यारो देखेका उनीहरु यस्तै पीडा र व्यथामा पिल्सिएका अरुको पनि प्रतिनिधि पात्र हुन् । 

जसको अनुहारमा मरेर गएका प्यारा परिवारजनको छाप मात्रै पोतिएको छैन, जिन्दगी यस्तै हो, अवस्थाअनुसार चल्न, छल्न र सम्हालिन पनि सक्नुपर्छ भन्ने सन्देश पनि भरिएको छ ।


 

अन्तिम अपडेट: चैत १९, २०७५

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया