कोदोबालीको विषयमा अन्तर्राष्ट्रिय बहस हुँदै
चैत १६, २०८० शुक्रबार
बाटो घरघरमै पुर्याउँछु, पानीका धारा जोड्न पहल हुन्छ, खानेपानीको समस्या समाधान गर्छु, बिजुली बत्तिको समस्या नै हुँदैन, यस्तै अनेक प्रतिबद्धता जनाए, र चुनाव पनि जिते ।
स्थानीय तहको चुनावमा वडासदस्य जित्दा बैतडीको दशरथचन्द नगरपालिका १ का नवराज भट्टको वाचा पनि यस्तै थियो । गाउँटोलको विकास गर्छु, नागरिकको हित हुने गरी काम गर्छु । तर अहिले उहाँ भन्नुहुन्छ,‘खासै काम भएन र भूमिका पनि पाइएन ।’
उहाँको वडामा महिनामा तीन पटक बैठक बस्छ । यो नियमित बैठक हो । वडाको नियमित बैठकमा जानेबाहेक अरु काम नहुने भएकाले वडासदस्यको काम नभएजस्तो देखिएको भट्टको अनुभव छ ।
ललितपुर महानगरपालिका–४ का वडासदस्य रामभक्त थापा मगरको अनुभव पनि उस्तै मिल्दोजुल्दो छ । वडाका योजना बनाउन छलफलमा बस्ने र आवश्यकता अनुसार बैठकमा सहभागी भएरै डेढ वर्ष बितेको उहाँ बताउनुहुन्छ ।
रसुवाको कालिका गाउँपालिका २ की दलित महिला सदस्य शुभलक्ष्मी विश्वकर्मा भन्नुहुन्छ, ‘गाउँसभामा खोजी हुन्छ । गाउँपालिकाको बैठक हुँदा जाने हो, धेरै सदस्य भए त्यही पनि खोजी हुँदैन ।’ जनप्रतिनिधि चुनिदै गर्दा निक्कै उत्साहित भएका उहाँहरु जस्ता धेरै वडासदस्यले अहिले यस्तै गुनासो पोख्ने गर्छन् ।
तीन चरणमा भएको चुनावबाट स्थानीय तहमा जनप्रतिनिधि चुनिएको पनि डेढ वर्ष बित्यो । २०७४ वैशाख ३१, असार १४ र असोज २ गते गरी ७ सय ५३ स्थानीय तहमा जनप्रतिनिधि चुनिएका हुन् । पहिलो चरणमा ३४ जिल्लाका २ सय ८३, दोस्रो चरणमा ३५ जिल्लाका ३ सय ३४ र तेस्रो चरणमा ८ जिल्लाका १ सय ३६ तहमा चुनाव भएको थियो ।
७७ जिल्लाका ७ सय ५३ वटै स्थानीय तहमा गरी ३५ हजारभन्दा बढि जनप्रतिनिधि छन् । उनीहरु प्रमुख÷उपप्रमुख, वडाअध्यक्ष, सदस्य जस्ता जिम्मेवारीमा छन् । मेयर÷उपमेयर, अध्यक्ष÷उपाध्यक्षले नेतृत्व लिएर स्थानीय सरकार चलाइरहेका छन् ।
जनप्रतिनिधिकै रुपमा चुनिएका वडासदस्यले कामको जिम्मेवारी नपाएको गुनासो गर्दै आएका छन् । आफूहरु पनि जनमतबाटै चुनिएको भए पनि अधिकार प्रयोग गर्न नपाएको उनीहरुको गुनासो छ ।
देशैभरी ६ हजार ७ सय ४३ वडा छन् । हरेक वडामा अध्यक्षसहित ५ जना जनप्रतिनिधि चुनिएका छन् । चार जनामध्ये २ जना महिला छन् । २ जना मध्ये १ दलित सदस्य हुनुपर्ने व्यवस्था छ ।
सबै वडामा गरी झण्डै २७ हजार वडासदस्य छन् । वडामा हुने कार्यक्रममा आसन ग्रहण र बेलाबखत हुने बैठकमा जानुबाहेक अरु काम नहुँदा उनीहरु निराश छन् ।
डेढ महिनाअघि मात्रै बर्दियाको राजपुर नगरपालिका १० का वडासदस्य उत्तम चौधरी सेवाग्राहीसँग साढे २ लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परे ।
त्यस्तै जुवाकै खालबाट वडासदस्य पक्राउ परेका समाचार पनि बेलाबेला आउने गरेका छन् । आफ्नो दायित्व नबुझेर बरालिएका यी त केहि प्रतिनिधि उदाहरण मात्रै हुन् ।
तर केही वडासदस्यले प्रभावकारी काम पनि गर्दै आएका छन् । लमजुङको सुन्दरबजार नगरपालिका–९ का वडासदस्य मानकृष्ण आचार्य आफ्नो वडा नमूना भएको दावी गर्नुहुन्छ ।
चारैजना वडासदस्यलाई जिम्मेवारी तोकिएको छ । विकास निर्माण, योजना तर्जुमा, तथ्याङक संकलन, अनुगमनका क्षेत्र छन् । आचार्यले योजनाको क्षेत्र हेर्नुहुन्छ ।
‘हामीले बैठक भत्ता मात्र पचाएका छैनौ, महिनामा २६ दिन नै वडा कार्यालयमा हुन्छौ, अध्यक्षसँगै काम गर्छौ ।’ टोलटोलका नागरिकको गुनासो सुन्ने र आइपरेका अप्ठ्याारा समाधानको प्रयास गर्दै आएको उहाँ बताउनुहुन्छ ।
कुनै वडा तहमा टोल छुट्याएर सदस्यलाई जिम्मेवारी दिइएको छ । उनीहरुले टोलमा आइपर्ने समस्या, नागरिकका गुनासा सुन्ने र समाधान गर्ने, विकास निर्माण र अनुगमन गर्ने जस्ता भूमिका निर्वाह गरेका छन् ।
तर सबै स्थानीय तहका वडा सदस्यले यसरी कामको प्रस्ट जिम्मेवारी भने पाएका छैनन् । नागरिकले जनप्रतिनिधिबाट धेरै आशा गरेका छन् तर जिम्मेवारी नपाउँदा टोल टोलबाट चुनिएका जनप्रतिनिधिमा निराशा बढी छ ।
वडासदस्य भूमिका नै नभएको पद पनि होइन । संविधानले वडालाई सेवा केन्द्रका रुपमा राखेको छ । अध्यक्षको भूमिका वडाबाट दिने सेवा प्रभावकारी बनाउने हो । नाता प्रमाणित, जन्मदर्ता, नागरिकता लगायत ३७ थरीका सिफारिस गर्ने जिम्मा वडाअध्यक्षलाई छ ।
अध्यक्षले आफ्नो काममा सदस्यको सहयोग लिन सक्छन् । वडाध्यक्ष नभएको बेला कार्यवाहकको जिम्मेवारी वडासदस्यले सम्हाल्नुपर्छ । स्थानीय विकास योजना तर्जुमा, कार्यान्वयन र अनुगमन पनि गर्नुपर्छ ।
वडामा हुने विकास निर्माणका योजना बनाउने, रेखदेख गर्ने, सहजीकरण गर्ने, गाउँटोलका समस्या समाधान गर्ने जिम्मेवारी वडासदस्यको छ । उनीहरुलाई आवश्यक जिम्मेवारी दिन र वहन गर्न उत्तिकै आवश्यक छ ।
आफ्नो जिम्मेवारी अनुसार काम गरेमा वडासदस्यहरुले नागरिकको मन जित्ने अवसर धेरै छन् ।
उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।