तीव्र गतिमा गाडी चलाउनेलाई नसा च्यापिने समस्या हुन सक्छ: डा. कर्ण

 असार १०, २०७५ आइतबार १३:३६:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

हिजोआज धेरैलाई कम्मरको नसा च्यापिने समस्या छ । नसा च्यापिनेबित्तिकै धेरैले अप्रेशन गर्नुपर्ने हो कि भनेर डराउने गर्छन्  ।

तर नसा च्यापिएको अवस्थामा अप्रेशन बाहेक पनि अन्य प्राकृतिक उपचार विधिहरु प्रभावकारी मानिन्छन् । यसबारे साथी विना न्यौपानेले त्रिवि शिक्षण अस्पतालका नसा रोग विभागीय प्रमुख तथा न्युरो क्लिनिक संचालक डा. रागेश कर्णसँग कुराकानी गर्नुभएको छ ।

पहिले पहिले उमेर बढेपनि नसा च्यापिने समस्या हुन्छ भनेर बुझिन्थ्यो तर अहिले जुनसुकै उमेर समूहमा पनि देखिन थालेको छ किन ? 

नसा च्यापिने रोग अहिले संवेदनशील बन्दै गएको छ । अहिलेका युवाहरुमा धेरै देखिने समस्यामध्ये यो पनि एउटा प्रमुख रोगको रुपमा रहेको छ । युवा भनेको आफैं कमाएर खाने र केही गर्छु भन्ने समूह हो । तर आफ्नै जीवन जिउते तरिकाको कारण यस्तो खालको समस्या देखा परिरहेको छ । 

स्नायुतन्त्रबाट निस्कने एउटा नसा हुन्छ । त्यो ब्रेन तथा मेरुदण्डबाट पनि निस्कन्छ । यो मेरुदण्डबाट निस्केको नसामा आउने समस्या भनेर बुझ्नु पर्छ ।

नसा मेरुदण्डबाट निस्कने बेलामा विभिन्न कारणले च्यापिने र सुनिने हुन्छ । यसैलाई नसा च्यापिने भनिन्छ । अंग्रेजीमा यसलाई रेडिकुलो प्याथी भनिन्छ । कमन भाषामा ढाडको नसा च्यापियो भने साईटिका भनिन्छ । 

के कारणले गर्दा यस्तो खालको रोग लाग्छ ?

बिभिन्न उमेर समूहको मान्छेहरुमा बिभिन्न खालका कारणहरु हुन सक्छ ।

धेरैमा लाग्ने वा देखिने कारण हो, डिस स्लिप वा डिस कोल्याप्स अथवा कुरकुरे हड्डी फुित्कनु भन्ने बुझिन्छ । हामीले विचार गर्ने हो भने मेरुदण्डको हड्डीहरुको बिचमा कुरकुरे हड्डी हुन्छ त्यसलाई डिक्स भनिन्छ ।

प्रत्येक मेरुदण्डको हड्डीको बीचमा डिस्क, एक तन्किने खालको तन्तुबाट बनेको हुन्छ । डिस्कले मेरुदण्डका हड्डीहरुलाई अड्याएर राखेको हुन्छ ।

कुनै कारण त्यो डिस्कले आफ्नो ठाउँ छोड्यो भने त्यसले कम्मरको मेरुदण्डको भागबाट निस्कने साइटिक नसालाई च्यापिदिन्छ त्यस्तो अवस्थालाई प्रोल्याप्स इन्टर भर्टेबल डिस्क भनिन्छ । यो नै नसा च्यापिने प्रमुख कारण हो । 

त्यस्तै उमेर बढ्दै गयो भने हड्डी खिईंदै जान्छ । मेरुदण्डको हड्डी खिइयो भने त्यहाँ हड्डीकोे चुच्चो चारैतिर  निस्कन्छ ।  

पछाडि निस्केको चुच्चोले मेरुदण्डबाट निस्केको नसालाई च्यापन पुग्दछ । त्यस्तै नेपाल जस्तो देशमा मेरुदण्डमा टि.बी भएको भएर पिप जमेको र हड्डीलाई नै ड्यामेज गरेर पनि नसा च्यापिन्छ ।

यस्तो समस्या अहिले बढिरहेको छ । कतिपयमा हड्डीमा क्यान्सर फैलिएर पनि नसा च्यापिने हुन्छ ।

युवाहरुमा चाहिँ यस्तो समस्या किन बढ्दैछ ? 

पहिलाका मान्छेको धेरै हिँडडुल गर्ने बानी थियो । तर अहिले आधुनिकिकरण बढ्दै गहिरहेको छ ।

मानिसहरु सवारी साधनको प्रयोग धेरै गर्छन् । मोटरसाइकल चलाउने युवाहरुले धेरै  गतिमा चलाउने अनि खाल्डाखुल्टीको बेवास्ता गर्दा डिस स्लिप हुने गर्दछ ।

युवाहरुले अत्याधिक गतिमा गाडी तथा मोटरसाइकल चलाउने भएर नै  नसा च्यापिने समस्या देखिएको हो ।

नसा च्यापिएपछि प्यारालाईसिस हुने सम्भावना हुन्छ कि हुन्न ? 

नसा कति च्यापिएको छ र कतातिर च्यापिएको छ भन्नेमा भर पर्छ । नसा धेरै ठाउँमा च्यापियो या त धेरै च्यापियो त्यो दुवै कारणले प्यारालाईसिस हुने अथवा खुट्टा नचल्ने हुन सक्छ ।

कहिलेकाहीँ नसा सिधा पछाडितिर फुस्कियो भने त्यसले मेरुदण्डलाई नै थिच्दछ । तर यो केही मानिसमा मात्रै हुन्छ ।

 धेरैमा ८०, ९० प्रतिशतमा धेरै दुखाई हुन्छ । दुखाई यति हुन्छ कि मान्छे उठ्नै नसक्ने, हिँड्नै नसक्ने हुन्छ । दुखाईले गर्दा मान्छे सामान्यदेखि विशेष कमजोरीसम्म हुन्छ ।

यस्तो समस्याको उपचार कसरी गर्ने त ? 

सबैभन्दा पहिला त आफूुलाई नसा च्यापिएको हो कि होइन छुट्याउनु पर्छ ।

किनकी चोटपटक लाग्न सक्छ, खाल्डाखुल्डीमा पर्न सक्छ । भारी उचाल्दा पनि लिगामेन्ट च्यातिएर दुख्न सक्छ । त्यसैले दुखाईमा ध्यान दिनु पर्छ ।

यदि ढाडको दुखाई, घाँटी पछाडिको दुखाई त्यही सीमित नभएर हाततिर खुट्टातिर पनि सर्छ, भने त्यो नसा च्यापिएको भनेर बुझाउँछ ।

केही मान्छेमा हिँड्दा एकदम खुट्टा भारी हुन्छ, अनि बस्दा सञ्चो भए जस्तो हुन्छ भने त्यो पनि नसा च्यापिएको लक्षण हुन सक्छ । त्यो हरेक उमेरमा हुन सक्छ । 
नसा च्यापिएको भनेर थाहा भएपछि विशेषज्ञलाई देखाउनु पर्छ । त्यसपछि घाँटीको वा कम्मरको एक्सरे गरेपछि अवस्था कस्तो छ थाहा हुन्छ ।

धेरैमा हड्डीमा समस्या नहुन पनि सक्छ । नसा नै च्यापिएको छ भने एमआरआई गरेपछि थाहा हुन्छ । एमआरआइले नसा हड्डी र डिक्स देखाउँछ । त्यस्तै कति र कुन अवस्थामा के कारणले च्यापिएको छ भन्ने पनि देखाउँछ । 

केही विशेष मान्छेमा नर्ब कन्डक्सन अध्ययन गर्नु पर्ने हुन्छ । त्यो नसा रोग विशेषज्ञले मात्रै गर्न सक्छ । त्यसमा एक ठाउँबाट करेन्ट लगाएर अर्काे ठाउँबाट रेकर्ड गरिन्छ । यसले जस्तोसुकै समस्या पनि देखाउने हुन्छ ।

६ हप्तादेखि ३ महिनासम्म उपचार गरेमा सन्चो हुन्छ । यसलाई पनि दुई भागमा विभाजन गरिन्छ । एउटा कन्जरभेटिभर अर्को शल्यक्रिया । कन्जरभेटिभ भनेको अपरेशनबिना गरिने उपचार हो । 

कन्जरभेटिभमा तीनवटा उपचार पद्धति हुन्छ । पहिलो जीवनशैली परिवर्तन, दोस्रो फिजियोथेरापी अनि तेस्रो औषधी उपचार यसको धेरै महत्व छ उपचारको लागि । ९० प्रतिशत मानिसमा यो विधि बाट ठिक हुन्छ केहि विशेषमा मात्रै लगातार तीन महिना सम्ममा पनि ठिक हुदैन भने अपरेसन गर्नु पर्ने हुन्छ ।

कुन ठाउँमा सबै भन्दा धेरै यो समस्या देखिने गरेको छ ?

यो सबैभन्दा धेरै देखिने भनेको शरीरको घाँटी र ढाडमा हो । त्यस्तै भौगोलिक रुपमा  गाउँमा भन्दा सहरमा धेरै देखिने गरेको छ ।

जसले धेरै सवारीसाधन चलाउने गरेको हुन्छ वा गाडीमा धेरै यात्रा गर्नु पर्ने हुन्छ । गाउँमा पनि जसले धेरै काम गर्नुपर्छ त्यस्ता मानिसमा देखिने गरेको छ । गह्रौं भारी बोक्ने, निहुरिएर काम गर्ने मानिसमा पनि यस्तो समस्या हुन सक्छ ।

नसा च्यापिने समस्याबाट बच्न के गर्ने त ? 

नेपाल विकासोन्मुख देश भएकाले काम नगरी कसैलाई पनि खान पुग्दैन । त्यसैले जुनसुकै काम गर्दा पनि एउटै पोजिसनमा बस्नु हुँदैन । सबैभन्दा पहिला त जीवनशैली परिवर्तन गर्नुपर्छ ।

नसा च्यापिएपछि  अगाडि निहुरीएर काम गर्नु हुदैन् । गह्रौं भारी उचाल्नु हुँदैन । लगातार बस्नु हुँदैन । त्यस्तै सवारी साधन नचलाउने । चलाउनै पर्यो भने मध्यम गतिमा  खाल्डाखुल्डीमा बचाएर चलाउनु पर्छ । 

लामो यात्रा गर्नुपर्याे भने सानो गाडीमा गर्नु हुँदैन । ठूलो गाडीको अगाडि बसेर यात्रा गर्नुपर्छ । बसेरै गर्ने काम छ भने पनि बीचबीचमा उठ्नुपर्ने हुन्छ । बस्दा ढाड सिधा गरेर बस्नु पर्छ । अरु रोग छ भने त्यसको निदान गर्नुपर्छ । नियमित जाँच गर्नुपर्ने हुन्छ ।
 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया