पाकिस्तानी आकाश पूर्ण रुपमा खुला

 फागुन २१, २०७५ मंगलबार ११:३१:५४ | रासस
unn.prixa.net

पाकिस्तानले हवाई उडानका लागि आफ्नो आकाश सोमबारदेखि पूर्ण रुपमा खुला गरेको जनाएको छ । पाकिस्तान र भारतबीच सैनिक तनाब बढेसँगै पाकिस्तानले आफ्नो आकाश हवाई उडानका लागि बन्द गरेको थियो । 

पाकिस्तानले गत बुधबार आदेश जारी गरेसँगै हवाई उडान अबरुद्ध हुँदा युरोप र एसियाबीचको हवाई यात्रामा नराम्रो असर परेको थियो । हजारौं हवाई यात्रु विश्वका विभिन्न विमानस्थलमा अलपत्र परेका थिए । 

विश्व समुदायले आणविक शक्तिराष्ट्र भारत र पाकिस्तान दुबैलाई संयम अपनाउन आग्रह गरेका थिए । पछिल्लो समय दुबै मुलुकले एकअर्काका युद्धक विमान खसालेको दाबी गरेका थिए । यही क्रममा एकजना भारतीय लडाकू विमानका चालकलाई पाकिस्तानले गिरफ्तार गरी भारतलाई बुझाएको थियो । 

“पाकिस्तानका सबै विमानस्थलहरु र पाकिस्तानी आकाश खुला गरिएको छ,” पाकिस्तानी नागरिक उड्डयन प्राधिकरणका प्रवक्ताले जनाएका छन् । 

पाकिस्तानी आकाश बन्द गरिँदा युरोप र दक्षिण एसियाका धेरै मार्गहरु बन्द भएका थिए । विश्वकै नवौं अग्लो पाकिस्तानको नाँगा पर्वतमा हराइरहेका दुई जना बेलायती र इटालेली पर्वतारोहीको खोजी कार्यमा समेत असर परेको छ । 

पाकिस्तानले शुक्रबारदेखि नै आफ्नो हवाई आकाश खुला गर्न थालेको थियो । 

पाकिस्तानी आकाश खुला हुनुलाई दुई देशबीच जारी तनाब विस्तारै कम हुन थालेको रुपमा पनि हेरिएको छ । पछिल्लो समय दुबै देशबाट एकअर्का मुलुकभित्र हवाई आक्रमण हुन छाडेका छन् । 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया