युवाहरुको प्रयासमा बनेको पर्यटकीय क्षेत्र भालुढुङ्गा (फोटोफिचर)

 असार १०, २०७५ आइतबार १८:७:८ | सुजता सुनुवार
unn.prixa.net

इलाम – संरक्षण अभावका कारण ओझेलमा परेको इलामको भालुढुङ्गा क्षेत्र अहिले पर्यटकको पहिलो रोजाई बन्न थालेको छ ।

भालुढुङ्गा सामुदायिक पर्यटन प्रवद्धन विकास समिति भालुढुंगाको संरक्षणमा जुटेपछि अहिले त्यहाँ पर्यटनको आगमन बढेको समिति अध्यक्ष हरी गुरुङ्गले बताउनुभयो । करिब १४ हेक्टर क्षेत्रफलमा फैलिएको यो क्षेत्रमा प्राकृतिक सौन्दर्यतामा रमाउन आउने पर्यटकको चहलपहल बढेको हो  ।

 

भालुढुंगामा अहिले पाँचथर, तेह्रथुम, ताप्लेजुङ्ग, धरान, पोखरा, लमजुङ्ग साथै इटाली, जर्मनी, अष्ट्रेलिया र स्वीट्जरल्याण्ड जस्ता देशबाट समेत पर्यटक आउन थालेका छन्  । पिकनिक तथा सुटिङ स्पोटका लागि भालुढुंगा उपयुक्त पर्यटकीय क्षेत्र बनेको छ ।

पर्यटकको आकर्षण बढ्न थालेपछि अहिले त्यहाँ बासोबासको सुविधा समेत मिलाइएको छ । स्थानीय नागरिकसँगै उनीहरुले बनाएका कोदो–फापरको रोटी, ढिडो, सिस्नुलगायत गुरुङ्ग, नेवारी र लिम्बु जातका खानाका परिकार समेत खान पाइन्छ ।

खानापछि नजिकैको पिकनिक स्पोर्टसमा गएर स्थानीय भाषा, संस्कार, सस्कृती झल्काउने गीतसँगै मादल र गीतारको तालमा नाच्ने व्यवस्था समेत गरिएको छ । फ्रि वाइफाइ समेत जडान गरिएकाले सेल्फि र भिडियो खिच्ने र साथीभाईसँग अनलाइनबाट सम्पर्क गरेर नजिकन पनि सकिन्छ ।

प्रवासी इलामेली जनसम्पर्क मञ्च मलेसिया, इलाम नगरपालिका र जागरुक युवाबाट यसको प्रवद्र्धन भइरहेको छ । अहिलेसम्म  यहाँको पर्यटकीय क्षेत्रको विकास गर्न २० लाख रुपैयाँ खर्च भइसकेको समिति अध्यक्ष गुरुङ्गको बताउनुभएको छ । अब नगरपालिकाले गरेको सहयोगबाट भालुढुङ्गा नजिकै चिडियाखाना गोलघर र बाटो बनाउने जस्ता कार्य गर्ने अध्यक्ष गुरुङ्गको भनाई छ ।

भालुढुङ्गाको ऐतिहासिक महत्व 

भालुढुङ्गामा तीन वटा ढुङ्गा छन् । भालुढुङ्गा, चमेरेगुफा र ओडारेगुफा । भालुढुङ्गामा वनझाँक्री बस्ने गरेको र महादेवको पाइला भएकाले यसको बेग्लै धार्मिक महत्व रहेको पौराणिक कथन छ । भालुढुङ्गामा वनझाक्रीले एउटा युवालाई लगेर एक महिना सोही ढुङ्गामा राखेको र फर्केपछि युवाको नाम नै अर्जा गुफे बाबै रहन गएको स्थानीय ज्ञानु अधिकारीको भनाई छ ।

‘भालुढुङ्गा पुगेपछि ओडारमा नछिरी फर्कन मनै लाग्दैन । जाने जो हुन्छन् ती सबैलाई  अनिवार्य रुपमा ओडारमा छिर्नै मन लाग्ने हुन्छ’, समितिका अध्यक्ष्ँ गुरुङ भन्नुहुन्छ, ‘आफ्नो मनोकांक्षा पूरा गर्न पनि थुप्रै नागरिक त्यस गुफभित्र छिर्ने गर्छन ।’

भालुढुङ्गाबाट अन्य पर्यटकीयस्थल सन्दकपुर, मावुमा हिउँ परेको दृश्य, छिन्टापु,  गुरुकुल, बौधगुम्बा जस्ता ठाउँलाई समेत टाडैबाट नियाल्न सकिन्छ ।


  

अन्तिम अपडेट: चैत १४, २०८०

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया