प्रधानमन्त्री अर्थात ‘हँसाउने बुढा’ !

 फागुन २१, २०७५ मंगलबार १६:१५:४० | जानुका दुवाडी
unn.prixa.net

फागुनको पहिलो हप्ता काठमाण्डौमा एउटा कार्यक्रम थियो । कार्यक्रममा सरकारका केही मन्त्रीहरू, उच्च पदस्थ व्यक्तिहरू, विभिन्न क्षेत्रका प्रतिनिधि, विश्व विद्यालयका प्राध्यापकदेखि लिएर कलाकार, पत्रकार र क्याम्पसका विद्यार्थीको समेत उपस्थिति थियो ।

कार्यक्रमको प्रमुख अतिथि हुनुहुन्थ्यो, प्रधानमन्त्री केपी शर्मा ओली ।  

कार्यक्रमको उद्घाटनमै उद्घोषकले प्रमुख अतिथि प्रधानमन्त्रीज्यू भएको र व्यस्तताका कारण अलि ढिलो आउने उद्घोष गरे । कार्यक्रममा प्रधानमन्त्रीज्यू आउने कुरा सुनेपछि हलमा उपस्थित सबैका निधारका धर्काहरू एकाएक तन्किए । सबैको अनुहारमा छुट्टै अनुभूतिको प्रतिबिम्ब स्पष्ट देखिन्थ्यो । 

कार्यक्रम औपचारिक रूपमा सुरू भयो । त्यसपछि पनि उद्घोषकले एक दुईचोटी प्रधानमन्त्री आउने कुरा दोहर्याइरहे । उनले त्यो कुरालाई कुनै सिनेमाको अभिनेता वा ठूलै कलाकारको प्रस्तुतिको प्रतिक्षामा बस्नु भनेको भान हुनेगरी उद्घोष गरिराखेका थिए । 

कार्यक्रममा उपस्थित विभिन्न वक्ताहरुले वर्तमानमा देशमा रहेको युवा बेरोजगारीको अवस्था, सम्भावना र समय सापेक्ष शिक्षाको गुणस्तर जस्ता विषयमा आ–आफ्ना विचार प्रस्तुत गरे । 

यस्तै गम्भीर विषयमा छलफल र अन्तक्रिया भैरहेको थियो । बीचबीचमा हाँस्य कलाकारहरूले पनि विचार प्रस्तुत गरे । हाँस्य कलाकारका भाषणको विषयवस्तु पनि ‘सिरियस’ नै थियो । कलाकारहरूले केही मनोरञ्जन गराउलान् भन्ने आशा राखेका दर्शकहरूले फ्याट्टफुट्ट बाहेक खासै हाँस्ने अवसर पाएनन् । 

सायद कलाकारहरूले हिजोआज कलाकारिता दोस्रो प्राथमिकतामा र समाजसेवा वा विकास निर्माणलाई पहिलो प्राथमिकतामा राखेको भएर होला भन्ने अनुमान लगाउन मलाई गाह्रो भएन । आजभोलि हँसाउने काम राजनीतिज्ञहरुले थालेकाले पनि होला कलाकारहरु सिरियस भएका । 

विभिन्न क्षेत्रका समस्याहरूको मन्थन गर्दागर्दै ‘सिरियस’ भैसकेको र पट्यारलाग्दो बनिसकेको कार्यक्रम हल एकाएक उत्साहित भयो, जब कार्यक्रम सञ्चालकले प्रधानमन्त्रीज्यू आइपुग्न लाग्नुभएको जानकारी दिए । एकैछिनमा प्रधानमन्त्री कार्यक्रम हलमा प्रवेश गरे । प्रधानमन्त्रीज्यूको प्रवेशसँगै कार्यक्रमस्थलमा उत्साह छायोे । 
ताली र सिट्ठी बज्न थाले । प्रधानमन्त्रीज्यूको ‘इन्ट्री’ नै दमदार थियो ।  अनुभूति नै बेग्लै थियो । अप्ठारोमा फसेकी नायिकालाई बचाउन कतैबाट फ्याट्ट उडेर आएका नायक जस्तो । सिनेमाकै कलाकार जस्तो क्या !

यतिकैमा पछाडिबाट कसैले बोलेको एउटा आवाज मेरो कानसम्म आइपुग्यो, ‘बुढाले दह्रो हसाउँछन् यार ।’ सुनेर मलाई नमिठो लाग्यो ।  मेरो देशको दुई तिहाइ मत प्राप्त प्रधानमन्त्रीलाई कुनै टेलिसिरियलको पात्रलाई भने जस्तै ‘दह्रो हँसाउने’ पात्रको संज्ञा दिइएको थियो । अर्कोतिर ५० प्रतिशत भन्दा धेरै युवा जनसंख्या भएको देशको प्रधानमन्त्रीलाई ‘बुढो’ भनिएको थियो । 

कार्यक्रममा प्रधानमन्त्रीज्यूकै बोल्ने पालो आयो । नभन्दै पहिलो शब्दबाटै हाँसो थामिएन । प्रधानमन्त्रीज्यूको प्रायः वाक्यहरु व्यंग्यात्मक थिए । हरेक शब्द, बीचबीचमा टुक्काहरूको मिश्रण, प्रतिपक्षलाई मिठो तर खरो प्रहारयुक्त भाषणले अघिसम्मका सारा ‘सिरियस’ विषयबस्तुलाई भुलाइदियो । प्रधानमन्त्रीको वाक्यैपिच्छै हल गलल्ल हाँसोले गुञ्जियो । 

भाषण सुन्दा लाग्थ्यो अब देशमा समस्या, अभाव र अप्ठ्यारा केही पनि बाँकी छैन । भए पनि आजकै दिनदेखि त्यो सकियो । केही बाँकी रहे पनि त्यसको जिम्मेवारी पूर्ववत सरकारहरूले लिनुपर्छ । अहिलेको सरकारले मज्जाले काम गरिरहेको कुरा प्रधानमन्त्रीज्यूले हाँसैहाँसोमा ‘कन्भिन्स’ गरे । 

को कति ‘कन्भिन्स’ भए त्यो जाँच्न सक्ने कुरा भएन । प्रायले भाषण सुन्न रूचाउँदैनन् । तर त्यहाँ भाषण सकिएको पत्तै भएन । धन्न कसैले ‘वान्स मोर’ चाहिँ भनेनन् ।  
अघि सुन्दा मलाई नमिठो लागेका दुईवटा शब्दहरुमध्ये पहिलो अर्थात ‘हसाँउने’ को विषयमा त प्रधानमन्त्रीज्यूको भाषण सुनेर म छर्लङ्ग भइसकेको थिएँ । तर दोस्रो शब्द अर्थात प्रधानमन्त्रीज्यूलाइ ‘बुढो’ भनेको विषयमा भने म थप सोच्न बाध्य भएँ । मैले हिसाब लगाएँ प्रधानमन्त्रीज्यू जन्मेको साल वि.सं. २००८ र अहिले चलिरहेको २०७५ को बीचमा त ६७ वर्ष नै पो कटिसक्नुभएछ ।  

ओलीज्यूकै सरकारले उनीभन्दा दुई वर्ष कान्छोलाई नसक्ने उमेर र जेष्ठ नागरिकको सम्मान भनेर वृद्धभत्ता वितरण गरिरहेको छ । त्योभन्दा दुई वर्ष बढी ६७ उमेर पुगिसकेका प्रधानमन्त्रीज्यूलाई कसैले बुढो भन्यो भनेर अरिङ्गालै भइहाल्नु बुद्धिमानी भएन की जस्तो लाग्यो र चुपचाप बसेँ ।  चित्त बुझाएँ, भलै राजनीतिमा लागेकाको बुढेसकाल हँुदैन ८० वर्ष पुगे पनि युवा नेताको पगरी नसकिँदै जीवन सकिन्छ, तर सामान्य बुझाइमा त ६० कटेको बुढै हो । 

प्रधानमन्त्रीज्यूको व्यङ्ग्य र उखान टुक्काको चर्चा त जताततै हुन्छ । झन् युट्यूबमा ‘केपी ओली फन्नी स्पीच कलेक्सन’ शीर्षक राखी दर्शक बढाएइरहेको देख्दा लाग्छ, हाँस्यो भने आयु बढ्छ भन्ने भनाइलाई सत्य मान्ने हो भने ओली सरकारले अरु काम गरे पनि नगरे पनि नेपालीको औसत आयु बढाउन भने पक्कै सहयोग गरेको छ ।

हुँदाहुँदै सरकारको नारा समृद्ध नेपाल, सुखी नेपालीबाट परिवर्तन भइ 'आफू हाँसौँ र अरुलाई पनि हँसाऔं' चाहिँ नहोस् ।   

अन्तिम अपडेट: जेठ १९, २०७६

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया