यस वर्ष साहित्यतर्फको नोबेल पुरस्कार दुई जनालाई दिइने

 फागुन २२, २०७५ बुधबार १४:३०:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

यस वर्षको साहित्य विधामा दुई ओटा नोबेल पुरस्कार दिइने भएको छ । सन् २०१८ मा यस विधाको पुरस्कार कसैलाई पनि नदिइएको हुँदा त्यो पुरस्कार पनि यसै वर्ष घोषणा गरिने स्वीडिस एकेडेमीले मंगलबार जानकारी दिएको हो । 

अघिल्लो वर्ष साहित्यको नोबेल पुरस्कार कसैलाई पनि दिइएको थिएन र यो घटना स्वीडिस एकेडेमीको साहित्य नोबेल पुरस्कारकै पहिलो हो । 

पुरस्कार घोषणा गर्ने स्वीडिस एकेडेमीका एकजना सदस्य कट्रिना फ्रस्टेन्सनका पति फ्रान्सेली फोटोग्राफर जीन क्लाउड आर्नल्टलाई विभिन्न महिलाले यौन दुर्व्यवहारको आरोप लगाएका कारण यौन दुराचारीकी श्रीमती सम्मिलित निर्णायक मण्डलले गरेको निर्णयले राम्रो सन्देश नजाने भन्दै घोषणा गरिएको थिएन ।  
मीटू अभियानबाट प्रेरित हुँदै १८ जना महिलाले आर्नल्टमाथि विभिन्न आरोप लगाएका थिए । श्रीमती एकेडेमी सदस्य भएको फाइदा उठाउँदै आर्नल्टले अघिल्ला संस्करणहरुमा पनि ७ जना विजेताहरुको नाम पहिले नै घोषणा गरेको आरोप पनि छ ।

सन् २०१८ र २०१९ को निर्णायक मण्डलले निर्णय गरिसकेको छ । यो पुरस्कारमा भएको महत्वपूर्ण परिवर्तन भनेको पाँच जना स्वतन्त्र र बाहिरका सदस्यहरु छन्, जसले स्वीडिस एकेडेमीलाई नोबेल साहित्यको लागि नयाँ निर्णायक समूह छनौट गर्दै आएको छ ।

नोमिनेसनमा परेका २०० जनाबाट फेब्रुअरीमा छनौट भएपछि सर्टलिस्टमा परेकाहरुलाई मे महिनामा छनौट गरी अन्तिममा छानिएका पाँच जनाको  गहन अध्ययनपछि पुरस्कारको घोषणा हुने गरेकाे छ ।

सन् १९०१ बाट सुरु भएको नोबेल साहित्य पुरस्कार सन् १९३६ र दुई विश्वयुद्धताका बाहेक कहिल्यै रोकिएको थिएन । १९३६ मा अमेरिकी नाटककार इयुजिन ओ निललाई दिने भनिएको पुरस्कार अर्को वर्ष दिइएको थियो ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया