मलेसिया पुगेपछि मात्रै लेबरमा विदेश जाने होइन रहेछ भन्ने बुझें

 फागुन २२, २०७५ बुधबार १४:३:१९ | मेरो कथा मेरो भोगाई

ब्रजेशकुमार मण्डल/धनुषा । 

म वैदेशिक रोजगारीका लागि मलेसियामा तीन वर्ष बसेर फर्किएँ । वैदेशिक रोजगारीमा जानेहरु कसरी ठगिँदा रहेछन् भन्ने आफैं ठगिएपछि थाहा पाएँ । 

म सन् २०११ मा मलेसिया गएको हुँ । त्यतिबेला मसँगै मेरा साथीहरु पनि थिए । हामी पाँच जना सँगै जाने भयौं । साथीहरुले छिमेकी गाउँको एजेण्ट चिनेका रहेछन् । उसै मार्फत जाने प्रक्रिया थाल्यौं । 

उसले कारको पाटपूर्जा बनाउने कम्पनीको काम भन्यो । तलब १२ सय रिंगिट हुन्छ भनेको थियो । त्यसका लागि एक जनासँग एक लाख १० हजार रुपैयाँ माग्यो । हामीले त्यत्रो त धेरै भयो भनेपछि ५ हजार रुपैयाँ घटाएर एक लाख ५ हजार रुपैयाँ लियो ।

हाम्रो सबै कागजपत्र उसले नै लिएर काठमाण्डौबाट काम गरिदियो । हामी त उड्ने बेलामा मात्रै काठमाण्डौ गयौं । हामीलाई यो कागज त्यहाँ एयरपोर्टमा देखाउनु अनि भित्र पुगिसकेपछि च्यात्नु भनेर दिएको थियो ।

त्यसमा म्यानपावरको नाम अनि कम्पनीको नाम लेखेको थियो होला । तर त्यो त्यहीँ च्यातेपछि हामी म्यानपावर र आफू कुन कम्पनीमा जाँदैछौं भन्ने थाहा नै नपाई मलेसिया पुग्यौं । मलेसिया पुगेपछि हामीले भनेको भन्दा अर्कै कम्पनीमा पठाएछ भन्ने थाहा पायौं । तर अब केही गर्न सक्ने अवस्थामा थिएनौं । 

त्यसैले काम गर्न थाल्यौं । यहाँ एजेण्टले १२ सय रिंगिट तलब अनि खानाको सुबिधा पनि छ भने पनि हामीलाई ७ सय १५ रिंगिट मात्रै दियो अनि खाना पनि दिएन । काम त यहाँ भनेकै थियो तर यहाँ भनेको जस्तो सजिलो चाहिँ थिएन ।

भनेको नभएपछि मैले पठाउने एजेण्टलाई पटक पटक फोन गरें । उसले म मिलाउँछु चाहिँ भनिरह्यो तर केही सहयोग गरेन ।एक त थोरै कमाइ । त्यो पनि फोनमा एजेण्टलाई फोन गरेर के खर्च गर्नु भनेर तीन/चार महिनापछि फोन गर्न छोडदिएँ । हुन त कम्पनीमा सामान उचाल्नलाई फोरक्लिप (सामान उठाउने मेसिन) थियो ।

तर कहिलेकाहीँ कामदारले नै पनि ठूल्ठूला पाटपूर्जा उचाल्नुपथ्र्यो । गाह्रो त धेरै थियो । तर सयकडा तीन रुपैयाँमा ऋण लिएर गइसकेपछि फर्किन पाइनँ । त्यही कम्पनीमा झण्डै तीन वर्ष बिताएँ । जाँदा लिएको ऋण तिर्न नै झण्डै डेढ वर्ष लाग्यो । त्यसपछिको कमाइ बचाएँ । तीन वर्षमा झण्डै २ लाख रुपैयाँ जति जोगाएर फर्किएँ । 

अहिले सुरक्षित आप्रवासन (सामी) परियोजनामा रिटर्नी स्वयमसेवकको रुपमा काम गरिरहेको छु । अहिले हामी सकेसम्म विदेश नजानुहोस्, यदी जानु नै हुन्छ भने पनि काम सिकेर मात्रै जानुहोस् भन्छौं । किनभने विदेश जाँदा लेबरका रुपमा जाने होइन रहेछ भन्ने बुझें । 

वैदेशिक रोजगारीमा सीप सिकेर जानेहरुलाई लेबरमा जानेहरु भन्दा काम पनि केही न केही राम्रो अनि तलब पनि त्यही अनुसारको हुन्छ । त्यसैले अहिले हामी विदेश जानेहरुलाई त्यही सिकाइरहेका छौं । 

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया