दक्ष नभइ विदेशिन्छन् नेपाली कामदार

 फागुन २५, २०७५ शनिबार १८:१४:३८ | रासस

काठमाण्डौ – नेपाली कामदार वैदेशिक रोजगारमा दक्ष नै नभई जाने गरेकाले समस्या झेल्दै आएका छन् । जसका कारण ‘म्यानपावर’ कम्पनीदेखि दलाल र रोजगारदाता कम्पनीबाट समेत नेपालीले दुःख पाउने गरेका छन् । 

आवश्यक सीप र दक्षताको अभावमा कतिपय नेपालीले रोजगारी नै नपाउने अवस्था समेत छ । दक्षता अभावले रोजगारी पाएका पनि न्यून तलबमा काम गर्नुपर्ने बाध्यता छ । नेपाल राष्ट्र बैंकका अनुसार विदेशमा काम गर्न जानेमध्ये जम्मा एक दशमलव पाँच प्रतिशत मात्रै दक्ष छन् ।

२४ प्रतिशत अर्धदक्ष छन् भने अधिकांश अदक्ष कामदार रोजगार गर्न भनेर विदेशिएका बैंकको विदेशी मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक भीष्मराज ढुङ्गानाले बताउनुभयो । अधिकांश अर्धदक्ष कामदार जापान र कोरियामा छन् । 

उहाँले अहिले नेपालको आर्थिक परिसूचक राम्रो रहेको र रेमिट्यान्स बढ्दो क्रममा रहेको बताउँदै कूल गार्हस्थ उत्पादनमा विप्रेषण बढ्ने अनुमान गरिएको उल्लेख गर्नुभयो । नेपालमा गत वर्ष विप्रेषण आप्रवाह ८ दशमलव ६ प्रतिशतले वृद्धि भएर ७ सय ५५ अर्ब ६ करोड पुगेको थियो ।

पछिल्लो ६ महिनामा विप्रेषण आप्रवाह ३० दशमलव २ प्रतिशतले वृद्धि भएर ४ सय ४३ अर्ब ३६ करोड पुगेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ । नेपालमा वार्षिक पाँच लाख युवा रोजगारीका लागि योग्य हुन्छन् । अहिलेसम्म ४३ लाख कामदार वैदेशिक रोजगारमा गएको तथ्याङ्क छ ।

नेपालबाट ११० मुलुकका लागि मात्रै रोजगारीका लागि अनुमति भए पनि १ सय ६७ देशमा नेपाली रहेको जनाइएको छ । कोरियामा मात्रै आधिकारिक रुपमा गएका ३५ हजार र अनौपचारिक तथ्याङ्कमा पाँच हजार नेपाली रहेको जनाइएको छ । 

कोरियाबाट न्यून विप्रेषण 

सरकारी तथ्याङ्कलाई आधार मान्दा एक नेपालीले कारियाबाट औषध  एक लाख ७० हजार रुपैयाँ कमाउँछन् । त्यसलाई आधार मान्दा  ६३ अर्ब रुपैयाँ आउनुपर्नेमा गतवर्ष १७ अर्ब रुपैयाँ मात्रै भित्रिएको छ । कोरियाबाट आउनुपर्ने मध्ये यो २५ प्रतिशत मात्रै विप्रेषण हो । 

४० हजार कामदार हिसाब गर्दा यो वर्ष झण्डै ८२ अर्ब रुपैयाँ भित्रिनुपर्ने राष्ट्र बैंकको विदेशी मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक ढुङगानाले बताउनुभयो । तर ६ महिनाको अवधिका जम्मा १६ करोड डलर मात्रै भित्रिएको छ । यो वर्ष बढेर ३६ अर्ब रुपैयाँ आउने अनुमान छ । 

यसरी हिसाब गर्दा ३६ अर्ब आयो भने पनि ४३ प्रतिशत मात्रै रेमिट्यान्स भित्रिने देखिन्छ । यसलाई १०० प्रतिशतमा पुर्‍याउनुपर्ने आजको आवश्यकता भएको उहाँको भनाइ छ । कोरिया सरकारले गएको जनवरीबाट नेपालीको तलब ११ प्रतिशत बढाएको र नयाँ नीतिलगायतका कारण यसमा प्रभाव पार्ने जनाइएको छ ।

केही दिनअघि मात्रै कोरियाको जेबी बैंकका पदाधिकारीसँगको विप्रेषण बढाउने विषयमा छलफल भएको थियो । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दिपेन्द्रबहादुर क्षेत्रीले सन् १९५६ ताका दुई देशको प्रतिव्यक्ति आय समान रहेकामा अहिले कोरियाको ३० हजार डलर रहेको र नेपालीको एक हजार चार डलर रहेको उल्लेख गर्दै कोरियाबाट नेपालीले धेरै कुरा सिक्नुपर्ने बताउनुभयो । 

उहाँले नेपालमा वित्तीय स्रोतको अभाव रहेको भन्दै स्थायी सरकार निर्माणसँगै औद्योगिक वातावरण बनेकाले लगानी गर्न कोरियालाई आग्रह गर्नुभयो । कोरियाको जेबी बैंकका प्रमुख कार्यकारी अधिकृत लिम योङ टेइले नेपालीले जेबी बैंकमार्फत कारोबार बढाइरहेको जानकारी दिँदै उक्त बैंकमा तीन हजार नेपाली जोडिएको बताउनुभयो ।
 

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया